धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक बर्षका लागि डेढ अर्ब बढीको बजेट प्रस्तुत गरेको छ । उपमहानगरपालिकाकी उप मेयर सुशिला मिश्र भट्टले आगामी आर्थिक बर्ष २०७७, ०७८ का लागि एक अर्ब ६३ करोड ८२ लाख बराबरको अनुमानित बजेट पाँचौ नगर सभामा सार्वजनिक गरिन ।
प्रस्तुत बजेट अनुसार चालु खर्च तर्फ ८५ करोड र पूँजीगत तर्फ ७८ करोड ८२ लाख रहेको छ । बजेटमा आय तर्फ आन्तरीक आय १९ करोड ९९ लाख ७३ हजार ६ सय ६०, बित्तिय समानिकरण २९ करोड २ लाख, राजस्व वाँडफाँडबाट १८ करोड ४० लाख, सशर्त अनुदान ५० करोड २६ लाख, प्रदेश सरकार समपुरक कोष अनुदान २ करोड ५० लाख, प्रदेश सरकार बिशेष अनुदान १ करोड १४ लाख र अन्य आय ४२ करोड ५० लाख २६ हजार ३ सय ४० उल्लेख गरिएको छ ।
बजेटमा कोभिड–१९ बाट सिर्जित संकट ब्यबस्थापन, कृषि, पूर्वाधार विकास, शिक्षा क्षेत्रमा गुणात्मक सुधार, सूचना प्रबिधि तथा संचारमा विकासलाई प्राथमिकतामा राखिएको छ । यसैगरी आगामी बर्षको बजेटमा पर्यटन प्रवद्र्धनको क्षेत्रमा बिशेष जोडका साथै कृषिमा आधुनिकीकरण तथा ब्यवसायीकरणमा बिशेष जोड दिने उल्लेख छ । पाँचौ नगर सभा उपमहानगरपालिकाका प्रमुख नृप बहादुर वडको सभापतित्वमा संचालन भएको हो ।