डडेल्धुरामा आलुखेतीतर्फ कृषकको आकर्षण बढ्दै
2022/08/08, 1:05
 
ss

 डडेल्धुरामा २४ हजार कृषक आलुखेती गर्दै आइरहेका छन् अहिले जिल्लामा करिब हजार हेक्टर जमिनमा आलुखेती गरिन्छ। हिउँदे आलुको तुलनामा यहाँ बर्खे आलु बढी उत्पादन हुन्छ, त्यसैले कृषकको आकर्षण आलुखेतीतर्फ बढ्दै गइरहेको छ ।

डडेल्धुराको गन्यापधुरा गाउँपालिका– १ का ४५ वर्षीय दत्तराज अवस्थीले विगत चार वर्षदेखि करिब ६० रोपनी जमिनमा बर्खे र हिउँदे आलु लगाउँदै आएका छन्। उनले एक सिजनमा करिब तीन सय क्विन्टल आलु उत्पादन गर्ने गरेको बताउँछन् ।

सुदूरपश्चिम प्रदेश सरकारले ०७८ मा प्रदेशका २७ कृषकलाई ‘भीमदत्त उत्कृष्ट पुरस्कार’द्वारा सम्मान गरेको थियो। हरेक जिल्लाबाट तीन कृषक सम्मानित हुँदा डडेल्धुराका दत्तराज अवस्थी पनि परेका थिए। उत्कृष्ट कृषकका रूपमा परिचित अवस्थीले अहिले १२ मानिसलाई रोजगार समेत दिएका छन्।

कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र कञ्चनपुरले सुदूरपश्चिमका नौवटै जिल्लाका सिक्न चाहने उद्यमीलाई आफूकहाँ पठाउने भएकाले काममा सहयोग भइरहेको उनको भनाइ छ। कृषक अवस्थीको आफ्नै २० रोपनी जमिन छ, जसमा उनले १० वर्षदेखि विभिन्न जातका तरकारी लगाउँदै आइरहेका थिए। चार वर्षयता भने उनले थप ६० रोपनी जमिन भाडामा लिएर आलुखेती थालेका हुन्।

आफ्नो २० रोपनी जग्गामा भने उनले विभिन्न जातका टमाटर, भेडे खुर्सानी, काँक्रा, साग, भेन्टा, काउली, अदुवा, बन्दा, मुला लगायत तरकारीखेती गर्दै आएका छन्।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ आलु सुपरजोन डडेल्धुराका नवनियुक्त प्रमुख धुव्र्र जोशीका अनुसार सुरुमा जिल्लाको अमरगढी नगरपालिका र गन्यापधुरा गाउँपालिकाबाट सुरु गरिएको आलु खेती अहिले जिल्लाका सातै स्थानीय तहमा विस्तार भइसकेको बताउँछन्।

‘आलु खेती राम्रो उत्पादन हुन थालेपछि सातै स्थानीय तहका किसानको आकर्षण बढ्दै गइरहेको छ। जिल्लामा अहिले २४ हजार दुई सय किसानले आलु खेती गर्दै आइरहेका छन्,’ उनी भन्छन्,  ‘हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा आलु लगाउँदा अहिले औसतमा प्रतिहेक्टर २४ मेट्रिकटन जति आलु उत्पादन भइरहेको छ।’

डडेल्धुरा अहिले आलुमा आत्मनिर्भर भइसकेको प्रमुख जोशीको भनाइ छ। यदपी जिल्लामा मल र सिँचाइको भने समस्या रहेको कृषकहरु बताउँछन् । कृषक अवस्थीका अनुसार, मल र जलको राम्रो व्यवस्था गर्ने हो भने एक रोपनीमा करिब १२ क्विन्टल आलु उत्पादन गर्न  सकिने बताए ।

आफूले उत्पादन गरेको आलु प्रतिक्विन्टलमा तीन हजार रुपैयाँका दरले भागेश्वर कृषि तथा पशुपालन फर्ममा बिक्री हुँदै आएको उनले बताए। गन्यापधुरा गाउँपालिका– ५ का प्रेम साउदसहित २० जना मिलेर चार वर्षदेखि ५५ रोपनी जमिनमा सामूहिक आलु खेती गर्दै आएका छन्। यो वर्ष आफूहरुले कागती र सुन्तलाका बिरुवा पनि लगाएको उनी बताउँछन्।