ड्रागन खेतीले फल दिन थालेपछि व्यवसायी खुसी
2022/08/10, 1:17
 
dd

नौलो तथा मीठो फल ड्रागन खेतीले फल दिन थालेपछि व्यवसायी खुसी भएका छन् । आफूले थालेको सो खेतीबाट राम्रो आम्दानी पनि हुन थालेपछि उहाँहरू खुसी भएका हुन् । २०७७ भदौ ११ मा लगाइएको बिरुवाले फल दिन थालेको पूर्व वन अधिकृत तथा वेस्टर्न मल्टी एग्रिकल्चर एन्ड रिसर्च सेन्टर प्रालिका अध्यक्ष रमेश चन्दले बताए । उनले भने–‘हामी व्यवसायमा सफल भएका छौँ, ड्रागनले फल दिन थालेको छ ।’ नौलो व्यवसाय भएकाले कस्तो हुन्छ भन्ने चिन्ता लिएका उनले फल लागेपछि खुसी भएको बताए । 

कञ्चनपुरको भीमदत्त नगरपालिका–९, मटैनामा करिब साढे चार करोडको लगानीमा ड्रागन खेती सुरु गरिएको हो । नेपालका लागि नौलो व्यवसायका रूपमा परिचित ड्रागन फलको सुदूरपश्चिम प्रदेशमा ठूलो परिणाममा पहिलो पटक कञ्चनपुरमा सञ्चार उद्यमी ज्ञानेन्द्र महता र पूर्व वन अधिकृत रमेश चन्दको संयुक्त लगानीमा खेतीको सुरुवात गरिएको हो । 

वेस्टर्न मल्टी एग्रिकल्चर एन्ड रिसर्च सेन्टर प्रालिले नेपालमै पहिलो पटक एकै ठाउँमा छ बिगाह क्षेत्रफलमा २४ हजार बिरुवा रोपेर खेती सुरु गरेको थियो । सिउँडी प्रजातिको सो ड्रागन खेतीको सुरुवात कोरोना कहरका बीच गरिएको हो । कोरोनाको बीचमा बढ्दो बेरोजगारीलाई मध्यनजर गरेर स्थानीय स्तरमै रोजगारी स्थापना गर्न ड्रागन फलको व्यवसाय सुरु गरिएको लगानीकर्ता प्रालिका प्रबन्ध निर्देशक ज्ञानेन्द्र महताले बताए ।

यस्तै अर्का लगानीकर्ता तथा प्रालिका अध्यक्ष चन्दले सेवा निवृत्त भएपछि आफूले अनुभव भएको खेती गर्ने उद्देश्यले ड्रागन खेती रोजेको बताए । उनले भने–‘मसँग भएको अनुभवका आधारमा युवालाई रोजगारी दिने उद्देश्यले ड्रागनको खेती गरिएको हो, यस फलको विदेशतिर धेरै माग छ ।’ 

‘अहिले २५ प्रतिशत उत्पादन  सुरु भइसक्यो, हामीले प्रत्यक्ष अप्रत्यक्ष रूपमा ३० जनालाई रोजगारी दिएका छौँ । अबको केही दिनमा प्रत्यक्ष एक सय जनाको रोजगारी सिर्जना हुने तथा एक वर्षपछि प्रत्यक्ष दुई सय पचास जना तथा अप्रत्यक्ष रूपमा एक हजार व्यक्तिको रोजगारी सिर्जना हुनेछ ।’ प्रालिका प्रबन्ध निर्देशक महताले भने । 

उनले थपे–‘हालसम्म हामीले करिब साढे चार करोड खर्च गरिसकेका छौँ, उत्पादन भएको फल अहिले फर्मबाटै उपभोक्ताले  लैजाने गरेका छन्, अहिले पु–याउनै सकिएको छैन, धेरै मान्छे फर्केर जान्छन् ।’ बाँझो तथा केही पनि खेती गर्न नमिल्ने तर सुख्खा ९पानी नजम्ने० जमिनमा यसको खेती गर्न सकिने हुँदा यो खेतीतर्फ सबैको ध्यान जानुपर्ने अध्यक्ष चन्दले बताए । उनले भने–‘बहुउपयोगी फल छ, हामीले भियतनामबाट बिरुवा मगाएका हौँ तर अहिले हामीले ड्रागनका ५० हजार बिरुवा उत्पादन गरिसकेका छौँ, ८० रुपियाँदेखि तीन हजार रुपियाँसम्ममा बिक्री गरिरहेका छौँ ।’

अहिलेसम्म दुई क्विन्टलभन्दा बढी बिक्री गरिसकेको छ । पहिलो लट हो, ५५० रुपियाँ प्रतिकिलोका दरले बिक्री भइरहेको छ । फूल फुलेको ४५ दिनमा फल तयार हुन्छ,  यसको सुकेको फूलको स्पेसल चिया बन्छ । 

ड्रागन खेतीका लागि हालसम्म भीमदत्त नगरपालिकाले सोलार र थोपा सिँचाइमा पाँच लाख तथा सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत कृषि ज्ञान केन्द्र कञ्चनपुरले ३० लाख रकम अनुदान दिएको र बाँकी लगानी बैङ्कबाट ऋण लिएर गरेको निर्देशक महताले बताए ।