कैलालीमा थप १०५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५०८ पुग्यो, कुन स्थानीय तहमा कति ? 
2020/06/24, 5:17
 
korona

कैलालीमा बुधवार मात्रै एक सय पाँच जनामा कोरोना पुष्टि भएको छ । धनगढी प्रयोगशाला मार्फत १० महिला र ४७ पुरुष तथा काठमाडौँ प्रयोगशाला मार्फत ९ महिला र ३९ पुरुष गरी एक सय पाँच जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा संक्रमितको संख्या पाँच सय ८ पुगेको छ ।

अहिलेसम्म चार सय ५९ जनाको मात्रै स्थानीय तह खुलेको छ भने काठमाडौँ प्रयोगशाला मार्फत आज पुष्टि भएका ४८ र अन्य एक गरी ४९ जनाको स्थानीय तह खुलाईएको छैन् । धनगढी प्रयोगशालामा भएको परीक्षणमा ३२ जना गोदावरी नगरपालिका कैलालीका छन् भने २५ जना लम्कीचुहा नगरपालिकाका छन् । अहिलेसम्म स्थानीय तह खुलेका मध्ये सबैभन्दा बढि प्रदेशको स्थायी राजधानी रहेको गोदावरी नगरपालिकामा ८४ पुरुष र २९ महिला गरी एक सय १३ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै लम्की चुहा नगरपालिकामा ८० पुरुष र ११ महिला गरी ९१ जना र प्रदेशको अस्थायी राजधानी धनगढीमा ५८ पुरुष र २३ महिला गरी ८१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालवहादुर धामीले जानकारी दिए । 

गौरीगंगा नगरपालिकामा ४५ पुरुष र पाँच महिला गरी ५०, घोडाघोडी नगरपालिकामा  २९ पुरुष र चार महिला गरी ३३, बर्दगोरीया गाउँपालिकामा १९ पुरुष र ६ महिला गरी २५, टीकापुर नगरपालिकामा २६ पुरुष र एक महिला गरी २७ जना, जानकी गाउँपालिकामा १२ पुरुष र ६ महिला गरी १८ जना, भजनी नगरपालिकामा पाँच पुरुष र दुई महिला गरी सात जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै कैलारी गाउँपालिकामा चार पुरुष र एक महिला गरी पाँच जना, चुरे गाउँपालिकामा ६ पुरुष र मोहन्याल गाउँपालिकामा तीन पुरुषमा कोरोना पुष्टि भएको छ । जिल्लाको जोशीपुर गाउँपालिकामा भने कसैमा संक्रमण पुष्टि नभएको स्वास्थ्य कार्यालयले जनाएको छ ।