बैतडीको पुर्चौडी नगरपालिका–८, मल्लादेहीका जनक बम भारतको हिमाञ्चलमा मजदुरी गर्थे । उनलाई रिंगटा लाग्ने र उच्च रक्तचापको समस्या देखिन थाल्यो, काम गर्दैगर्दा एक दिन बेहोस् भए । स्वास्थ्यमा समस्या बढेपछि १८ महिनाअघि स्वदेश फर्केका उनको धनगढीमा स्वास्थ्य जाँच गर्दा दुवै मृगौला फेल भएको पत्ता लाग्यो । त्यसयता उनी धनगढीको सेती प्रादेशिक अस्पतालमा सातामा तीन दिन डायलाइसिस गराउँदै आएका छन् ।
विपन्न परिवारका बमलाई डेरामा बसेर डायलाइसिस गराउन आर्थिक अभावले निकै समस्या छ । आफन्तको सरसहयोगसमेतले अहिलेसम्म उपचार गरेका उनले अब कोठाभाडा तिर्न र साँझ–बिहान छाक टार्न धौधौ हुन थालेको दुखेसो पोखे ।
‘भएको सम्पत्ति उपचारमा सकियो । पैसाको अभावले अहिले डेरामा बसेर नियमित डायलाइसिस गराउन निकै समस्या छ ।’ ४८ वर्षीय उनले भने, ‘स्वास्थ्यले आफू काम गर्न सक्दैन । श्रीमतीले मजदुरी गर्छ, त्यहीँबाट जसोतसो गुजारा चलेको छ ।’ धनगढीदेखि काठमाडौँसम्म गरी उपचारमा सात लाख रुपैयाँ खर्च भइसकेको उनले बताए । उनी श्रीमती र माइला छोरासहित धनगढीबाट १५ किलोमिटर दुरीमा रहेको अत्तरियामा बस्छन् ।
‘श्रीमतीले इँटा उद्योगमा मजदुरी गरेर दिनको तीन सय कमाउँथिन । बर्खामा इँटा उद्योग पनि बन्द भयो, अहिले खाली छ । माइलो छोरा होटेलमा काम गर्न थालेको चार महिना भयो ।’ बमले भने, ‘म कालका दिन कुरेर बसेको छु ।’ गाउँको पाखो जमिनले खान पुग्दैन । परिवार पाल्न भनेर उनको जेठो छोरा भारतमा मजदुरी गर्दै आएका छन् । वृद्ध आमा र कान्छो छोरो पहाडमा घर कुरेर बसेका उनले बताए । गरिबीले छोराहरु पढाउन नसकेको दुखेसो बमले पोखे ।
मृगौला रोगबाट पीडित डडेल्धुराको कोटेलीका ३४ वर्षीय गोपाल कामी डायलाइसिस गराउन तीन महिनादेखि धनगढीमा डेरा गरी बसेका छन् । अहिले उनी सेतीमा सातामा तीन दिन डायलाइसिस गराउँछन् । यसअघि सेतीको डायलाइसिस सेन्टरमा पालो नपाउँदा सात महिना भारतको दिल्लीमा बसेर उनले डायलाइसिस गराएका थिए । रोगका कारण स्वास्थ्यमा समस्या आइरहने हुँदा आफूले चुलोचौको गर्न नसकेपछि नाबालक दुई छोरालाई घरमा छोडेर उनी श्रीमतीसँगै बस्छन् ।
‘१० र १५ वर्षका दुई छोरा घरमा एक्लै छन् । कहीलेकाँही उनीहरुको मामा गएर सँगै बसिदिन्छ ।’ कामीले भने, ‘डडेल्धुरामै डायलाइसिसको सुविधा भएको भए नाबालक छोरालाई छोडेर यहाँ आउनु त पर्थेन ।’ उनी साउदी अबरको एउटा केमिकल उत्पादन गर्ने कम्पनीमा काम गर्थे । घर फर्कने बेला भएको थियो । टाउको दुख्ने र रिंगटा लाग्ने समस्या देखिएपछि उतै स्वास्थ्य जाँच गरेका उनको मृगौला फेल भएको पत्ता लाग्यो ।
कतार जाँदाको ऋण तिरिसकेपछि केही पैसा सापटी लिएर उनले गाउँमा श्रीमतीलाई घर लगाउन लगाए । ‘घर बनाउँदा लिएको पाँच लाख रुपैयाँ ऋण तिर्न नपाउँदै फर्कनु प¥यो ।’ उनले दुखेसो सुनाए, ‘अहिले सुको आम्दानी छैन, ऋण तिर्नु त कता डेरामा बसेर उपचारै गर्न धौधौ भएको छ ।’ विदेशमा रहेका साथीभाइले कहिलेकाँही पठाइदिने सहयोगले डेराको जीवन जसोतसो चलेको उनले सुनाए ।
सुदूरपश्चिमका सातवटै पहाडी जिल्लामा डायलाइसीसको सुविधा छैन । ती जिल्लाका मृगौला रोडपीडितले डायलाइसीस गराउन धनगढी आउनु पर्छ । हप्तैपिच्छे डायलाइसीस गराउनु पर्दा पहाडबाट आउजाउ गर्न नसकिने भएपछि बिरामी तराइमा डेरा गरी बस्नुपर्ने बाध्यता छ । जिल्लामा डायलाइसिस सुविधा नभएपछि आर्थिक अभावले धनगढी आएर डायलाइसिस गराउन समस्या भोगिरहेका यहाँ कयौँ उदाहरण भेटिन्छन् । कोठामा भाडामा लिएर बस्नुपर्ने भएकाले विपन्न परिवारका बिरामीले उपचार गराउन समस्या भोग्दै आएका छन् ।
जनक र गोपालजस्तै बझाङकै खप्तडछान्ना गाउँपालिका–१, गडीगाउँका दीर्घराज जोशी पनि डायलाइसिस गराउनका लागि डेरा लिएर बस्नु पर्दा आर्थिक अभावको समस्या भोगिरहेका छन् । उनी तीन वर्षदेखि भाडामा बसेर डायलाइसिस गराउँदै आएका छन् । कोठा भाडा तिर्न र साँझबिहान छाक टार्न मुस्किल भएको उनले बताए । ‘जिल्लामै उपचार हुने भए यति खर्च हुने थिएन ।’ जोशीले भने, ‘हप्तामा दुई दिन अस्पताल आउनु पर्छ । पहाडबाट यहाँ आउन सकिदैन ।’
सुदूरपश्चिममा सरकारी अस्पतालमा सेतीमा मात्रै डायलाइसीस सुविधा छ । जुन सरकारसँगको सम्झौतामा निजि कम्पनी बिरङ्ग हेल्थ केयरले सञ्चालन गरिरहेको थियो । अहिले एक महिनादेखि सेती प्रादेशिक अस्पताल आफैले पनि डायलाइसिस सेन्टर चलाइरहेको छ । सेतीको डायलाइसिस सेन्टरमा ४८ र बिरङ्गकोमा ४५ जनाले नियमित डायलाइसिस गराइरहेका छन् ।
सेती र बिरङ्गले १०÷१० शय्यामा डायलाइसिस सेवा दिइरहेका छन् । यसअघि बिरङ्गमा मात्रै डायलाइसिस सुविधा हुँदा बिरामीलाई पालो पाउन मुस्किल हुने गरेको थियो । अहिले सेती पनि सुरु गरेपछि पालो पाउन सहज भएको बिरामीले बताएका छन् । डायलाइसिस गराउनेमध्ये अधिकांश बिरामी सुदूरपश्चिमका पहाडी जिल्लाका रहेका बिरङ्गको डायलाइसिस सेन्टरका व्यवस्थापक दीपक भट्टले बताए ।