बाजुराको एक मेडिकलसहित १२ पसलमा सिलबन्दी
2022/08/12, 1:00
 
11

बाजुराको एक मेडिकलसहित १२ पसलमा सिलबन्दी गरिएको छ। बुधबार जिल्ला प्रशासन कार्यालय र बडीमालिका नगरपालिकाको संयुक्त अनुगमनका क्रममा सदरमुकाम मार्तडीमा रहेको रोहित क्लिनिकसहित १२ खुद्रा तथा कपडा पसलमा सिलबन्दी गरिएको हो।

उक्त मेडिकलमा स्वास्थ्यकर्मी नबसेका र आवश्यक कागजात नभएपछि दर्ता प्रमाणसहित दर्तामा संलग्न भएको व्यक्तिले प्रशासनमा उपस्थित हुने गरी सिलबन्दी गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ। आधिकारिक व्यक्ति भन्दा अनाधिकृत व्यक्तिबाट गरिएको औषधी विक्री वितरणले जनताको स्वास्थ्यमाथि खेलबाड गर्ने काम हुने भएकाले मेडिकलमा सिलबन्दी गरिएको बताइएको छ।

यस्तै खाद्य तथा कपडा व्यवसायीका ११ ओटा पसल सिलबन्दी गरिएका छन्। व्यापारीले पान नम्बर नराखेको, बिलमार्फत भुक्तानी दिने नगरेको, होडिङ्ग बोर्ड नराखेको पाइएकोले सिलबन्दी गरिएको बताइएको छ। त्यसैगरी विक्री बिल बिजक जारी नगरेका ११ ओटा पसलहरुबाट ५ हजारका दरले ५५ हजार रुपैयाँ जरिमाना असुल गरिएको र मूल्य सूची नराखिएका ४० ओटा पसलहरुलाई सचेत गराइएको प्रशासन कार्यालयले जनाएको छ।

बजार अनुगमनमा करिब ७० हजार बराबरको अखाद्य तथा अन्य म्याद गुज्रेका सामग्री बरामद गरी नष्ट गरिएको बताइएको छ।