धान र गहुँको बिउ उत्पादनमा कैलाली आत्मनिर्भर
2022/08/13, 5:38
 
dd

धान र गहुँको उन्नत बिउबिजन उत्पादनमा कैलाली जिल्ला आत्मनिर्भर भएको छ । कैलालीमा उत्पादन भएको बिउ जिल्ला बाहिरसमेत निर्यात हुन थालेको छ ।जिल्लामा वर्षभरिमा झण्डै ३६ हजार क्विन्टल धान र ४५ हजार क्विन्टल गहुँको उन्नत बिउ आवश्यकता रहेकामा त्यो भन्दा धेरै बिउ उत्पादन भइरहेको कृषि ज्ञान केन्द्र कैलालीले जनाएको छ ।

कैलालीमा झण्डै एक हजार हेक्टरमा चैते धानखेती र झण्डै ७१ हजार सात सय हेक्टर जग्गामा वर्षे धानखेती गरेर वर्षको दुई पटक धानखेती हुने गरेको छ । यस्तै झण्डै ३५ हजार हेक्टरमा गहुँ खेती हुने गरेको छ । प्रतिहेक्टरमा धान खेती गर्न ५० किलो र गहुँ खेती गर्न १ सय २० किलो बिउ आवश्यक पर्ने गर्छ ।सरकारी स्वामित्वको बिउबिजन कम्पनीले उन्नत बिउको उत्पादन र बिक्री गर्दै आएकोमा पछिल्ला वर्षमा निजी क्षेत्रका एक दर्जनभन्दा बढी बिउबिजन कम्पनी, सहकारी संस्था र कृषक समूहले समेत उन्नत बिउ उत्पादन गर्दै आएका छन् ।

प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको पहलमा कञ्चनपुरको पुनर्वास क्षेत्रमा वर्षौँदेखि बाँझो अवस्थामा रहेको राष्ट्रिय आवास कम्पनीको ७४ बिघा जग्गा भाडामा लिइ धान र गहुँको उन्नत बिउ उत्पादन कार्यक्रम भइरहेको छ ।उन्नत बिउको प्रयोगले उत्पादन बढेको भए पनि भरपर्दो सिँचाइको सुविधाको अभाव र रासायनिक मल समयमै उपलब्ध नहुँदा समस्या खेप्नुपरेको धनगढी उपमहानगरपालिकाका किसान ललित रानाले गुनासो गरे ।उन्नत बिउको प्रयोग बढेसँगै रैथाने जातका बालीको खेती हराउन थालेको छ। कैलाली, कञ्चनपुरलगायतका जिल्लाको ठूलो क्षेत्रफलको जग्गामा विगतमा गरिने स्थानीय जातको कालो धान, आइरेट, गुर्रा, राइमनुवा, सौँटेरी जस्ता धानको बिउ हराइसकेको किसानको भनाइ छ ।