कतार विश्वकप : गत सेप्टेम्बरमा रोकिएको ब्राजिल र अर्जेन्टिनाबीचको खेल पुनः नखेलाइने
2022/08/17, 4:26
 
hguf

कतार विश्वकप २०२२ दक्षिण अमेरिकी छनोटअन्तर्गत गत सेप्टेम्बरमा रोकिएको ब्राजिल र अर्जेन्टिनाबीचको खेल पुनः नखेलाइने भएको छ। विश्व फुटबलको सर्वोच्न निकाय फिफाले ब्राजिल र अर्जेन्टिनाबीचको खेल पुनः नखेलाउने निर्णय गरेको हो। कतार विश्वकप नोभेम्बरबाट सुरु हुँदैछ। ब्राजिल शीर्ष स्थानमा र अर्जेन्टिना दोस्रो स्थानमा बस्दै कतार विश्वकपका लागि छनोट भइसकेका छन्। 

गत सेप्टेम्बरमा साओ पाउलोमा घरेलु टोली ब्राजिल र अर्जेन्टिनाबीचको खेलको छैठौं मिनेट जारी रहँदा ब्राजिलका स्वास्थ्य अधिकारीहरु मैदान प्रवेश गरेपछि खेल रोकिएको थियो। अर्जेन्टिनाका चार खेलाडीले क्वारेन्टिनको नियम पालना नगरेको भन्दै उनीहरुलाई पक्राउ गर्न स्वास्थ्य अधिकारीहरु प्रहरीसहित मैदान प्रवेश गरेपछि खेल स्थगित भएको थियो।

फिफाले दुवै राष्ट्रमाथि जरिवाना भराउने र सो खेल पुनः खेल्नुपर्ने निर्णय गरेको थियो। फिफाले पुनः खेलाउने खेलको मिति पनि तोकेको थियो। सो खेल सेप्टेम्बरमा हुने सम्भावना रहेको थियो। तर, ब्राजिल र अर्जेन्टिना भने खेलाडीको चोटको डरका कारण सो खेल फेरि खेल्न अस्वीकार गर्दै आएका थिए।

फिफाको निर्णयविरुद्ध ब्राजिल र अर्जेन्टिना कोर्ट फर अब्रिट्रियसन अफ स्पोटर्स (सीएएस) मा पुगेका थिए। सीएएसले यसै महिनाको अन्त्यमा यो विषयमा अन्तिम निर्णय दिने बताइएको थियो। तर, अदालतमा उपस्थित हुँदै फिफा, ब्राजिल र अर्जेन्टिनाबीच सो खेल पुनः नखेलाउने सहमति जुटेको हो।

५ पटकको विजेता ब्राजिलले सन् २००२ पछि विश्वकपको उपाधि जित्न सकेको छैन। अर्जेन्टिना भने पछिल्लो पटक सन् २०१४ मा फाइनल प्रवेश गरे पनि जर्मनीसँग १–० ले पराजित भएको थियो। ब्राजिल कतार विश्वकपको समूह ‘जी’मा सर्बिया, क्यामरुन  स्विट्जरल्यान्डसँग परेको छ। अर्जेन्टिनाले भने समूह ‘सी’ मा मेक्सिको, पोल्यान्ड र साउदी अरेबियाको सामना गर्नेछ।