सुदूरपश्चिम प्रदेशमा कोरोनाको जोखिम बढ्यो, आइसियु सहितका आइसोलेसन तयार गरिदैं
2022/08/20, 5:38
 
ss

सुदूरपश्चिममा कोरोना सङ्क्रमणको जोखिम बढेको छ। भारतीय सीमानाका तथा अन्य मुलुकबाट नेपाल आउनेहरुमा कोभिडको संक्रमण देखिन थालेपछि जोखिम बढेको हो। जोखिम बढेसँगै प्रदेशका विभिन्न स्थानीय तह तथा सबै जिल्लाहरुमा पूर्वतयारी थालिएको छ।

भारतसँग सीमा जोडिएका जिल्लाहरुमा नाकामा चेकजाँच पनि कडाइ गरिएको छ। अन्य जिल्लाहरुमा पनि पूर्वतयारीका विभिन्न कार्यक्रमहरु थालिएका छन्। स्थानीय तहहरु तथा अस्पतालहरुले जोमिख न्यूनीकरण र व्यवस्थापनका लागि आइसोलेसन पनि निर्माण गरिरहेका छन्। 

जिल्ला अस्पताल बैतडीको नयाँ भवनमा मात्रै कोरोना सङ्क्रमितको उपचारका लागि १० शय्याको आइसोलेसन तयार पारिएको छ। जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्तका अनुसार बढ्दो कोरोनाको सङ्क्रमणलाई ध्यानमा राखेर सङ्क्रमितको व्यवस्थापनका लागि आइसोलेसन तयार पारिएको हो। दशरथचन्द नगरपालिका र  जिल्ला अस्पतालको संयुक्त सहकार्यमा आइसोलेसन तयार पारिएको हो। महिला पुरुषका लागि छुट्टाछुट्टै आइसोलेसन तयार पारिएका छन्। 

जिल्ला अस्पतालामा पनि आइसियुसहितको चार शय्याको आइसोलेसन तयार पारिएको छ। जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले गरेको निर्णय अनुसार आइसोलेसन निर्माण गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए। बैठकले पाँच लाख बराबरको कोरोना कोष स्थापना गर्ने, होल्डिङ सेन्टर, क्वारेन्टिन निर्माण गर्ने, कोरोनाविरुद्धको खोप लगाउन छुटेका नागरिकलाई खोपको दायरमा ल्याउने, जिल्लामा सञ्चालनमा रहेका एम्बुलेन्सको लगत यथाशीघ्र जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको सचिवालयमा पेश गर्ने निर्णय गरेको थियो। 

यसैगरी प्रत्येक स्थानीय तहमा स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्र स्थापना गर्ने निर्णय भएको छ। त्यसका लागि जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र र नेपाल रेडक्रस सोसाइटीसँग समन्वय गरेर अघि बढ्ने निर्णय भएको थियो। भारतसँग सीमा जोडिएका कैलाली, कञ्चनपुर लगायतका अन्य सुदूरपहाडका जिल्लाहरुमा पनि स्थानीय तहहरु सङ्क्रमणको जोखिम व्यवस्गापनका लागि सक्रिय बनेका छन्।