सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको सङख्या ह्वात्तै बढेको छ । असारको १० दिनमा मात्रै एक हजार दुई सय ८५ जना संक्रमित थपिएका भएका छन् । जेठ ३२ गतेसम्म सुदूरपश्चिम प्रदेशमा संक्रमितको सङख्या दुई सय ६४ रहेकोमा असारको १० दिनमा थप एक हजार दुई सय ८५ जनामा संक्रमण पुष्टि भएका हो । योसंगै संक्रमितको सङख्या बढेर एक हजार पाँच सय ४९ पुगेको छ । असारमा थपिएका संक्रमित कुल संक्रमितमध्येको ८३ प्रतिशत हो ।
संघीय स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार असारको १ गते ६८ जना, २ गते १७ जना, ३ गते ३२ जना, ४ गते दुई सय ३८ जना, ५ गते एक सय ६६ जना, ६ गते एक सय ६३ जना, ७ गते ७६ जना र ८ गते एक सय ३७ जनामा कोरोना पुष्टि भएको छ । यस्तै ९ गते एक सय १६ जना र १० गते दुई सय ७२ जनामा कोरोना पुष्टि भएको छ ।
अहिलेसम्म सबैभन्दा बढी कैलालीका पाँच सय आँठ जनामा कोरोना पुष्टि भएको छ । यस्तै डोटीमा दुई सय नौँ, डडेल्धुरामा दुई सय पाँच, कञ्चनपुरमा एक सय ९४, बैतडीमा एक सय ६०, अछामका एक सय १२, बाजुराका एक सय, बझाङमा ४४ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि भएका पाँच जनाको मृत्यु भईसकेको छ भने एक सय ७६ जना निको भएर घर फर्किसकेका छन् ।
कोरोना संक्रमितको संख्या वढ्दै गएपछि पालिकाहरु धमाधम सिल गर्न थालिएका छन् । ८८ वटा स्थानीय तह रहेको सुदुरपश्चिममा अहिलेसम्म ५ पालिकाहरु सिल भईसकेका छन् भने सिल हुने क्रम पनि वढ्दै गएको छ । थप पालिकाहरु पनि सिल हुने तयारी गरिरहेका छन् । एकै पटक ५६ जना कोरोना संक्रमित भेटिएपछि असार ४ गतेदेखि डडेल्धुराको गन्यापधुरा गाउँपालिका सिल गरिएको छ । सिलको अवधिमा गन्यापधुराका स्वास्थ्य सेवा बाहेक अन्य सेवा बन्द गरिएका छन् । गाउँपालिकामा रहेका बजार, पसल तथा राजमार्ग बाहेकका अन्य सडकमा स्थानीयहरुका यातायातका साधन समेत चल्न रोक लगाइएको गाउँपलिकाका अध्यक्ष मल्लले बताए ।
गन्यापधुरा सिल गरिएको दोश्रो दिन असार ५ गते दिउसोदेखि डडेल्धुराको सदरमुकाम समेत रहेको अमरगढी नगरपालिका सिल गरिएको छ । अमरगढी नगरपालिकामा संक्रमित संख्या बढी भन्दा पनि नजिककाा पालिकाहरुमा बढेको संक्रमणले प्रभाव पार्न सक्ने भएकोले सिल गरिएको हो । अन्य स्थानीय तहमा क्वारेन्टिइनबाट घर पठाइएका शंकास्पद संक्रमितहरु बजार घुम्न थालेपछि जोखिम बढेको भन्दै सिल गर्ने निर्णय भएको थियो । सिल गरिएपछि बजार बन्द, कार्यालय बन्द हुने र जनजीवन झन प्रभावित भएको छ ।
कोरोनाको संक्रमण बढ्दै गएपछि सुदुरपश्चिमका सात पहाडी जिल्ला जाने मुख्य राजमार्गमा रहेको गोदावरी नगरपालिकाममा बजार बन्द गरिएको छ । सुरुमा सिल गर्ने भनिए पनि सरकारले कर संकलनका लागि बजार खुला गरेको बेलामा पहाडी र पुर्व पश्चिमको पुरै आवतजावत बन्द हुने भन्दै पछि बजार मात्र बन्द गरिएको छ । भारतबाट आएका नेपालीहरुलाई गड्डाचौकीबाट जिल्ला जिल्लामा पुरयाउने काममा खटिएका पुष्कर भट्टको कोरोना संक्रमणका कारण सेती प्रादेशिक अस्पतालमा मृत्यु भएपछि गोदावरी नगरपालिकाले उद्योग वाणिज्य संघसँग सल्लाह गरेर बजार बन्द गराएको हो । गोदावरी बन्द गराउने तेश्रो पालिका हो ।
क्वारेन्टिनबाट भागेर घर गएका १८ जनामा कोरोना संक्रमण भेटिएपछि पुर्व पश्चिम राजमार्गमै रहेको गौरीगंगा नगरपालिकाले पनि असार ८ देखि पालिका सिल गरेको छ । समुदायमा जोखिम बढेको भन्दै गौरीगंगाले सिल गर्ने निर्णय गरेपछि मसुरिया, चौमाला, बढैपुर बजारहरु बन्द छन् । वैतडीको पाटन नगरपािलका पनि सिल गरिएको छ । पालिका सिल गर्ने पछिल्लो पालिका बैतडीको सदरमुकाम समेत रहेको दशरथ चन्द नगरपालिका हो । कोरोना संक्रमितको संख्या बढ्न थालेपछि दशरथ चन्द नगरापलिकाले असार १० देखि १६ गतेसम्मका लागि सिल गरेको छ । नगरपालिकाका प्रमुख नरेन्द्र सिंह थापाले कोरोनाको समुदायसम्म जान सक्ने भएकोले सिल गरिएको बताए ।