सुदूरपश्चिममा क्वारेन्टिनबाट घर पठाइएका २५० बढिमा कोरोना पुष्टि
2020/06/25, 10:04
 
korona

सुदूरपश्चिम प्रदेशमा परीक्षणविनै क्वारेन्टिनबाट घर पठाइएका व्यक्तिमा कोरोना संक्रमण देखिन थालेको छ। लकडाउनकैबीचमा भारतबाट फर्किएर १४ दिन क्वारेन्टिन बसाईपछि पीसीआर परीक्षण रिपोर्ट नआउँदै घर पठाइएका व्यक्तिमा संक्रमण देखिन थालेको हो।

प्रदेश स्वास्थ्य निर्देशनालयले जेठ २९ गते १४ दिन क्वारेन्टिनमा बसेकालाई लक्षण नदेखिए घर पठाउन स्थानीय तहलाई निर्देशन दिएको थियो। सोही निर्देशन अनुसार प्रदेशका ९ जिल्लामा रहेका ३५ हजार भन्दा बढिलाई घर पठाइएको छ। सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा गरी क्वारेन्टिनबाट घर पठाइएका दुई सय ५० भन्दा बढिमा कोरोना संक्रमण पुष्टि भएको छ।

कैलालीका विभिन्न स्थानीय तहमा एक सय ३५, डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका ५८, डोटीको शिखर नगरपालिकाका १५, बैतडीको शिवनाथ गाउँपालिकाका १७, कञ्चनपुरको लालझाडी गाउँपालिकाका १४ लगायत विभिन्न जिल्लाका स्थानीय तहमा क्वारेन्टिनबाट घर गएपछि कोरोना सङ्क्रमण पुष्टि भएको हो।

‘१४ दिनसम्म कसैमा पनि कोरोनाको लक्षण देखिएन्,’ गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवल मल्लले भने, ‘डाक्टरको सल्लाह अनुसार नै हामीले उनीहरुलाई घर पठाएका थियौँ। केही दिनमा रिपोर्ट पोजेटिभ आईदियो।’

लक्षण नदेखिएकालाई क्वारेन्टिनबाट धमाधम घर पठाउने काम जारी रहँदा यसले संक्रमण समुदायस्तरमा फैलिन योगदान गरिरहेको चिकित्सक बताउँछन्। सबै मानिसमा भाइरलको मात्रा फरक–फरक हुने बताउँदै सेती अस्पतालका फिजिसियन डाक्टर निराजनदत्त शर्माले भने, ‘भाइरल मात्रा बढि भएको मानिस कहिले लक्षणविहिन हुन सक्छ। त्यसैले परीक्षण रिपोर्ट आएपछि मात्रै घर पठाउँदा उचित हुन्छ।’