चैते धान दोस्रो पटक काट्दै भजनीका किसान 
2022/08/28, 1:48
 
ss

धनगढी- कैलालीको बाढी, डुवान प्रभावित क्षेत्रका किसानले यसवर्ष लगाएको चैते धान दोस्रो पटक भित्र्याइ रहेका छन् ।  मध्य असारमा पहिलो पटक चैते धान काटेका किसानले डेढ महिनापछि दोस्रो पटक बाली भित्र्याइ रहेका हुन । पहिलो पटक काटेकै बोटमा नयाँ पालुवा पलाएर फेरि धान फलेपछि भित्र्याउने कार्य गरिरहेको भजनी नगरपालिका–३ पकरियापुरका बुद्धिराम चौधरीले बताए ।

उनका अनुसार बाढीले नबिगारेका कारण यसवर्ष चैते धान खेती गरेका किसानलाई दोस्रो पटक पनि धान भित्र्याउने अवसर प्राप्त भएको हो ।  कैलालीको भजनी नगरपालिकाका किसान चैते धानमा निर्भर छन् । बाढी डुवान समस्याका कारण बर्खे धानबाली नहुने भएकाले धेरैजसो किसानले चैते धान नै लगाउने गरेका छन् । चैते धान लगाएका सो पालिकाका किसानले यसवर्ष दोस्रो पटक बाली भित्र्याउन पाएपछि खुशी छन् । 

यसवर्ष दुई चोटी धान काट्न पाउँदा खुशी लागेको ढुसी गाउँका कृषक चुन्नीराम चौधरीले बताए । डेढ बिघा जमिनमा चैते धान खेती गरेको सुनाउँदै उनले भने,‘पहिलो बाली असारमा भित्र्याएको थिएँ । दोस्रो पटक साउन अन्तिममा धान काटेका छौं ।’  बाढीले नसताएमा दोस्रो, तेस्रो पटकसम्म बाली भित्र्याउन मिल्ने गरेका कारण चैते धान खेती गरेर गुजारा गर्न सहज भएको किसानको भनाइ छ । ‘बर्खे धानको खेती त थोरैमात्र हुन्छ । त्यो पनि बाढी आए सखाप हुने गर्दछ’, बुद्धिरामले भने,‘तर, चैते धान बाढी आउनु अगावै भित्र्याउन मिल्छ । जोगियो भने, दोस्रो, तेस्रो पटक पनि उत्पादन लिन सक्छौं ।’ परार साल तीन पटकसम्म चैते धान काटेको उनले उल्लेख गरे ।  

किसानका अनुसार पहिलो पटक चैते धान काटिसकेपछि केही पनि गर्नु पर्दैन । सक्नेले अलि अलि मल हाल्ने गर्छन् । तर, त्यत्तिकै छोडे पनि केहि दिनभित्रै नयाँ पालुवा पलाएर बाला लाग्ने गर्दछ । ‘चैते धान खेती रोपाइँ गर्दाको बखतमात्रै बढी लगानी लाग्ने गर्छ’, पकरियापुरका कृषक अट्वारी चौधरीले भने,‘एक चोटी धान काटिसकेपछि केही गर्नु पर्दैन । बाढीबाटमात्रै जोगियो भने एक/दुई महिनामा दोस्रो चोटीका लागि धान तयार हुने गर्दछ ।’ 

खास गरेर वडा नम्बर ३ र ८ मा किसानले बढी चैते धान खेती गर्ने गरेका भजनी नगरपालिकाका कृषि शाखाका प्राविधिक सहायक कमल चौधरीले बताए । उनका अनुसार भजनीमा ५००÷६०० हेक्टर जमिनमा चैते धान खेती हुँदै आएको छ ।  वडा नम्बर ३ को ढुसी, पकरियापुर, थेकी, जवलपुर, कन्हैयापुर र वडा नम्बर ८ को सोनहाफाँटा, कृष्णनगर, काँढाढिक, खैरा, गोरचौरामा बढी चैते धान खेती गरिएको छ । चैते धान खेती गर्ने किसानलाई प्रोत्साहनका लागि गतवर्षदेखि मुख्यमन्त्री कृषि कार्यक्रम पनि लागू गरिएको छ । सो कार्यक्रममार्फत किसानलाई बीउबिजन र उपकरण ५० प्रतिशत अनुदानमा प्राप्त हुने गरेको चौधरीले जानकारी दिए । ‘जेहोस बाढी, डुवान क्षेत्रका किसानलाई चैते धान खेतीले ठूलो सहयोग भएको छ’, उनले भने ।