नवौं राष्ट्रिय खेलकुदमा सुदूरपश्चिमका ७ सय बढी खेलाडी सहभागी हुने
2022/09/08, 6:02
 
ss

आगामी महिना गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिमबाट ७ सय बढी खेलाडी सहभागी हुने भएका छन्।  नवौंमा खेलाइने ३६ मध्ये ३३ खेलमा सहभागी हुने सुदूरपश्चिम प्रदेशले आफ्नो अन्तिम खेलाडी छनोटका लागि १ हजार २ सय ८३ पुरूष र ८ सय ७८ महिलालाई बन्द प्रशिक्षणमा बोलाइएको प्रदेश खेलकुद परिषदले जानकारी दिएको छ। 

यी मध्येबाट ७०९ जना खेलाडी गण्डकी जान छनोट हुने प्रदेश खेलकुद परिषदले जनाएको छ। यसमध्ये १९४ जना खेलाडीले छनोट खेल्नु नपर्ने र सोझै छनोट हुने भएका छन्। असोज २८ देखि कात्तिक ३ सम्म नेपाली खेलकुदको सबैभन्दा ठूलो महोत्सवमा सहभागी हुन चाहने खेलाडीबाट आवेदन लिइएको थियो।

आवेदन दिएकामध्येबाट विभिन्न खेलका लागि आवश्यक संख्यामा खेलाडी छनोटको काम आगामी सातादेखि हुनेछ।   नवौंमा यस प्रदेशबाट अन्तर्राष्ट्रिय, स्थानीय रेफ्री र निर्णायक गरी ४७२ जना अरू खेल पदाधिकारी सहभागी हुनेछन्। नवौंका लागि जम्मा १ हजार ४ सय ८१ जनाको टोली गण्डकी जानेछ।

अन्य केही प्रदेशमा भने नवौं राष्ट्रिय खेलकुद प्रतीयोगिताका लागि तयारी केही अघिदेखि नै सुरू भए पनि बजेट ढिलो प्राप्त भएकाले सुदूरपश्चिममा खेलाडी छनोटमा ढिलाइ भएको प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहले बताए। ‘बजेटमा खेलकुदलाई निकै बेवास्ता गरेजस्तो महसुस भएको छ, बजेट अभावका कारण सधै समस्या पर्ने गरेको छ,’ उनले भने।

यस वर्ष प्रदेश सरकारले नवौंमा सहभागी हुने खेलाडीलाई बन्द प्रशिक्षणदेखि खेल सकिएको भोलिपल्टसम्म दैनिक २ हजारका दरले भत्ता दिने भएको छ।  यही बजेट पनि निकै गाह्रो मानेर छुट्याएको प्रदेश सरकारले उत्कृष्ट खेलाडी र विधामा आफैंले छुट्टै पुरस्कार वा प्रोत्साहनका लागि सहयोग दिने भनेको छैन।