हुलाकी राजमार्गअन्तर्गत भजनी नगरपालिका–३ को कान्द्रा नदीमा पुल निर्माण अलपत्र परेको छ। ठेकेदारको लापरबाहीले पुल अलपत्र परेको हो। पुल निर्माण शुरु भएको नौ वर्ष बितेको छ। तर, पुल भने बन्न सकेको छैन। पुलको पिलर राख्ने कामबाहेक केही पनि नभएको स्थानीयवासीको भनाइ छ। यस वर्ष पुल निर्माण सम्पन्न हुने आशामा रहेका भजनीवासीको सपना पूरा हुनसकेन।
भजनी–३ का मानबहादुर साउँदको घर कान्द्रा नदी छेवैमा छ । उनको खेतीबारी सबै कान्द्रा नदी पारी लालबोझीमा छ। वर्षामा कान्द्रा नदीमा पानीको बहाव बढ्ने भएकाले मानबहादुर आफ्नो खेतीको रेखदेख गर्न पाउदैनन्। “घर नदी वारि छ, खेतबारी नदी पारी”, उनले भने, “पुल बन्छ भन्ने आसमै नौ वर्ष बित्यो। न त पुल बन्यो न त स्थानीय सरकारले कुनै विकल्प खोज्यो।” मानबहादुर एउटा उदाहरण मात्र हुन्।
भजनी नगरपालिकाको वडा नं. ५ र ७ का स्थानीयवासीको सम्बन्ध वर्षात्को समयमा नगरपालिकाबाट नै टुट्ने गरेको छ। आउनै पर्ने अत्यावश्यक काम भए मात्र उनीहरु डुङ्गाको सहायतामा नगरपालिका आउँछन्। बर्सेनि वर्षायाममा यहाँका स्थानीय बासिन्दा डुबान, कटानलगायत थुप्रै समस्याबाट पीडित हुँदै आएका छन्। भजनी नगरपालिकाका दुई वडाका बासिन्दा नदीको टापुमा रहेर कष्टपूर्ण जीवन बिताउन बाध्य छन्।
कान्द्रा, पथरैया, मोहना, काँढा नदीको डुबानका कारण वर्षात्को समयमा त्यहाँका स्थानीयवासीको बास हुलाकी राजमार्ग सडकको त्रिपालमा हुने गरेको छ। त्यतिमात्र नभई वडा नं. ५ र ७ का विद्यार्थीहरु उच्च शिक्षाका लागिसमेत भजनी बजारमै आउनुपर्ने बाध्यता छ। उनीहरुले डुङ्गा चढेबापत दैनिक २० रुपैयाँ तिर्नुपर्छ। वर्षात्मा नगरपालिकाले विभिन्न नदीहरुमा डुङ्गा सञ्चालनका लागि ठेक्कासमेत दिने गरेको छ। स्थानीयवासी अनु खत्रीले नगरपालिकाको सेवा लिनका लागि पनि नगरपालिकाले ठेक्का दिएको डुङ्गालाई पैसा तिर्नुपर्ने बाध्यता रहेको बताए।
कान्द्रा नदीमा पक्की पुल निर्माण गर्न विसं २०६८ जेठ ३१ गते ठेक्का सम्झौता भए पनि हालसम्म पुल निर्माण सम्पन्न हुनसकेको छैन। जसका कारण ज्यानको बाजी लगाएर नै लालबोझीका जनता कान्द्रा नदी वारपार गर्न विवश छन्। नौ वर्षयता निर्माणाधीन पक्की पुललाई टुलुटुलु हेर्दै पैसा तिरेर डुङ्गाको जोखिमपूर्ण यात्रा गर्नुपर्ने आफूहरूको बाध्यता रहेको खत्रीले बताए। “लालबोझीबाट धनगढी निक्कै टाढा छ,” उनले भने, “नजिकको बजार भजनी नै हो, त्यहाँ पुग्न ज्यानको बाजी लगाउनुपर्छ। अहिलेसम्म हाम्रो पीडा न त केन्द्रले सुन्यो न त स्थानीय सरकारले नै।”
स्थानीयवासीका अनुसार वर्षायाममा खोलामा पानीको सतह बढ्दा डुङ्गासमेत बन्द हुन्छ। ‘त्यही बेला कसैलाई स्वास्थ्यमा गम्भीर समस्या आयो वा सुत्केरी व्यथा लागेमा अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता छ। रातिको समयमा डुङ्गा पनि चल्दैन। नदीसम्म पुग्न पनि डुबानका कारण समस्या हुने गरेको बताउँदै भजनी नगरपालिका –५ का मानबहादुर साउँदले भने, ‘हामीले तीनै तहका सरकारलाई यो समस्या सुनाइसक्यौँ, तर कसैले सुन्दैनन्।” नदी तर्ने क्रममा बर्सेनि कैयौँले अकालमै ज्यान गुमाउन परिरहेको स्थानीयवासीको गुनासो छ।
ठेकेदारको चरम लापरवाहीका कारण नौ वर्षसम्म पनि पुल निर्माण हुन नसक्दा पुलको अवस्था देखेर स्थानीयवासी आक्रोशित बन्दै गएका छन्। भजनी नगरपालिकाकी उप–प्रमुख छाया देवकोटाले पुल छिटोभन्दा छिटो निर्माण गर्न ठेकदारलाई दबाब दिइरहेको बताए। “हामीले ठेकेदारसँगै हुलाकी सडकका प्रमुखलाई समेत पटक–पटक भेटेर छिटो पुलको काम सक्न दबाब दिइरहेका छौँ,” उनले भने, “असार मसान्तभित्र पुलमा हिँड्न मिल्ने गरी कामसक्ने आश्वासन सबै क्षेत्रबाट आएको हो। तर, त्यो आश्वासन ठेकेदार कम्पनीले पूरा गर्ने अवस्था देखिएन।”
हुलाकी सडक डिभिजन कार्यालय धनगढीका इन्जिनीयर पद्मबहादुर मडैले पहिलो पटक पुलको डिजाइन असफल भएका कारण निर्माण कार्य लम्बिएको बताए। उनले पहिलो पटक डिजाइन गरिएको पुलको फाउन्डेशन सफल नहुँदा २०७२ मा पुनः अर्को डिजाइन गरी पुल निर्माणको काम शुरु गरिएको बताए। चार करोड २४ लाखको लागतमा लामा, विरुवा र साप्ला शेर्पा कन्स्ट्रक्सनले पुल निर्माणको ठेक्का पाएको छ।
विसं २०७५ असारसम्म पुल बनाउने सम्झौता भए पनि ठेकेदार कम्पनीले तोकेको समयावधिमा भने पुल निर्माण गर्न नसक्दा पुनः २०७७ माघसम्म काम सक्नेगरी म्याद थप गरिएको छ।