नवौं राष्ट्रिय खेलकुद: पुरुष क्रिकेटमा सुदूरपश्चिमको पहिलो जित
2022/09/11, 6:26
 
dd

काठमाडौँ-  नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा सुदूरपश्चिम प्रदेशले पहिलो जित निकालेको छ । उसले आज सम्पन्न खेलमा प्रदेश–१ लाई १३ रनले हराउँदै पहिलो जित निकालेको हो । 

प्रदेश–१ ले भने प्रतियोगितमा हारबाट सुरुवात गर्‍यो । पहिलो खेलमा सुदूरपश्चिमले दिएको १४५ रनको लक्ष्य पछ्याएको प्रदेश–१ ले २० ओभर नै ब्याटिङ गरे पनि ७ विकेट गुमाउँदै १३१ रन मात्र बनाउन सक्यो।

उसका लागि दीपेश कँडेलले अविजित ३४, कप्तान फिर्दोष अन्सारीले ३३, सोनु मण्डलले अविजित २६ र सन्दीप ढुङ्गानाले १३ रन जोडे । सुदूरपश्चिमका लागि मिलन बोहराले दुई, हेमन्त धामी, लोकेन्द्र चन्द, शेर मल्ल, नरेन साउँद र नारायण जोशीले एक/एक विकेट लिए । 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४४ रन बनायो । उसका लागि बसन्त खत्रीले अर्धशतकीय पारी खेले । उनले ४१ बलमा ४ छक्का र २ चौकासहित ५३ रन बनाए । मिलन बोहराले ४४, लोकेन्द्र चन्दले २४ रन जोडे ।

प्रदेश–१ का लागि फिर्दोष अन्सारीले तीन, दीपेश कँडेलले दुई, कमल खत्रीले एक विकेट लिए । प्रदेश–१ ले एक विकेट भने रन आउटको रूपमा प्राप्त गर्‍यो ।यो जितसँगै सुदूरपश्चिमले ३ खेलमा ३ अंक जोडेको छ । यसअघि उसले एनआरएन स्पोर्ट्स एकेडेमीसँग १२ रनको पराजय बेहोर्दा बागमती प्रदेशसँगको खेल रद्द भएको थियो । 

पहिलो पराजय बेहोरेको प्रदेश–१ को पनि ३ खेलबाट २ अंक छ । यसअघि उसले खेल्ने तय भएको एपिएफ र बागमतीसँगको खेल रद्द भएको थियो ।त्यस्तै, मूलपानीमा तय बागमती प्रदेश तथा एनआरएनबीचको खेल भने टससमेत हुन नपाई रद्द भएको छ ।