सागका पदक विजेताहरुलाई नगद रकम खातामा पठाउनका लागि विवरण माग्यो
2020/06/26, 7:33
 
sports

सुदुरपश्चिम प्रदेश सरकारले दक्षिण एसियाली खेलकुद प्रतियोगिताका पदक विजेता खेलाडीलाई विवरण माग गरेको छ । सामाजिक विकास मन्त्रालयले सुचना जारी गर्दै खेलाडीलाई नगद सहित सम्मान गर्नका लागि विवरण माग गरेको हो ।

मंसीर १५ गतेदेखि २४ गतेसम्म नेपालमा भएको दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का पदक विजेता सुदुरपश्चिम प्रदेशका खेलाडीहरुलाई प्रदेश सरकारले नगद सहित सम्मान गर्ने निर्णय गरेको थियो । पुस १ गतेको मन्त्री परिषद्को वैठकले सुदुरपश्चिमका साग विजेता खेलाडीलाई नगद सहित सम्मान गर्ने निर्णय गरेको थियो । हाल कोभिडको महामारीका कारण कार्यक्रम गरी पुरस्कार रकम दिन नसकिने भएकोले सिधैं खेलाडीको वैंक खातामा रकम पठाउन विवरण माग गरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

असार २० गतेभित्र विवरण पेस गर्न समय सीमा दिएको मन्त्रालयको सुचनामा खेलाडीको नाममा रहेको वैंक खाता र खाता नम्बर, नागरिकताको प्रमाण पत्रको प्रतिलिपी सो नभएमा स्थानीय तहको स्थायी वसोवासको व्यहोरा उल्लेख भएको सिफारिस पत्र, वैवाहिक कारणबाट प्रदेशको प्रतिनिधित्व गर्ने महिला खेलाडीको हकमा विवाद दर्ताको प्रमाण पत्रको प्रतिलिपी र खेलाडीको पदक प्राप्त गरेको प्रमाणपत्रको प्रतिलिपी, सम्पर्क नम्बर सहितको विवरण सामाजिक विकास मन्त्रालयले माग गरेको छ । 

पुस १ गते बसेको मन्त्रीपरिषद्को बैठकले सागमा स्वर्ण, रजत र काश्य पदक जित्ने खेलाडीलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको थियो। मन्त्रीपरिषद्को बैठकले सागमा दुई वा दुईभन्दा बढी स्वर्ण पदक विजेता खेलाडीलाई जनही दुई लाख, एक स्वर्ण जित्ने खेलाडीलाई डेढ लाख, रजत विजेता खेलाडीलाई एक लाख र काश्य पदक विजेता खेलाडीलाई ७५ हजार नगद सहित सम्मान गर्ने निर्णय गरेको थियो।

मंसिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजित १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालले हालसम्मकै उच्च पदक हात पारेको थियो। प्रतियोगितामा सुदूरपश्चिमका खेलाडीले मात्र नेपाललाई १२ स्वर्ण, ३१ रजत र ३० कास्य पदक दिलाएका थिए। सुदूरपश्चिम क्षेत्रबाट एकल र समूहतर्फ गरी ५९ पुरुष तथा महिला खेलाडी सहभागी थिए।

b