धनगढीमा अनसनरत डा. केसीसँग वार्ता गर्न सरकारले बनायो टोली, अनशन तोड्न आग्रह
2022/09/16, 8:35
 
ss

धनगढी-  स्वास्थ्य सेवा सुधारको माग राख्दै पाँच दिनदेखि आमरण अनशनमा बसेका डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गरेको छ।

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिवको संयोजकत्वमा वार्ता टोली गठन गरेको जनाएको छ। प्रधानमन्त्री कार्यालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शिक्षा मन्त्रालयका सचिव र नेपाल चिकित्सक संघका प्रतिनिधि सदस्य रहने गरी वार्ता टोली गठन गरेको जनाएको हो।

चिकित्सक संघका प्रतिनिधिलाई भने डा। केसी र सरकार दुवैको मध्यस्थता गर्ने गरी टोलीमा राखिएको छ। वार्ता टोली गठनसँगै सरकारले डा‍ केसीलाई अनशन तोड्न आग्रह गरेको छ।

यसअघिका सहमति कार्यान्वयनसहितका सात बुँदे माग राखेर धनगढीमा पाँचदिनदेखि अनसनमा रहेका डा केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ। तर उनले औषधि लिन मानेका छैनन्। उनमा रिंगटा लाग्ने, थकान लाग्ने, श्वास फेर्न समस्या हुने, रक्तचाप र मुटुको धड्कनमा गडबडी लगाएतका समस्या देखिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ।

उनको शरीरमा पोषणतत्व र पानीको असुन्तलनले बेहोस हुन सक्ने, कम्पन हुन सक्ने (सिजर), रोगसँग लड़न सक्ने क्षमता कम भई विभिन्न संक्रमण हुन सक्ने, मुटुको धड्कन, श्वासप्रश्वास र रक्तचाप गडबढ भई अंग र प्रणालीमा खराबी हुन सक्ने वा ज्यान जोखिममा पर्न सक्ने अस्पतालले जनाएको छ।