अघिल्लो बिहीबार राष्ट्रिय सभामा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बेसारले कोरोना निको हुने अभिव्यक्ति दिए । बेसार किन खाने बेसारका फाईदा के–के छन जस्ता विषयमा प्रधानमन्त्रीले लामो टीप्पणी गरेपछि सोही विषयलाई लिएर सामाजिक सञ्चाल तातेको छ । बेसार औषधीय गुणले भरिएको प्रकृतिक तत्व भएकोमा शंका नरहेपनि यसबाट कोरोना निको हुने कुनै वैज्ञनिक प्रमाण अहिलेसम्म भेटिएको छैन् । प्रधानमन्त्रीको बेसार मन्तव्यलाई लिएर सर्मथन र बिरोधमा चौतर्फी आलोचना र प्रशंसा चलिरहेको छ ।
बेसार जिन्जिबेरसी परिवारको एक कन्दमूल हो । यसको वानस्पतिक नाम ‘करक्यूमा लोगा’ हो । बेसारको गानोमा पाईने तत्व (पहेँलो रंगको) कुरकुमिन हो । अहिले निकै चर्चाको रहेको बेसारको सुदूरपश्चिममा उत्पादन र बजारबारे यहाँ चर्चा गर्न गईरहेका छौँ ।
बजारमा बेसार
बजारमा बेसारको मुल्य प्रतिकिलो मूल्य तीन सयदेखि पाँच सय रुपैयाँ रहेको छ । थोकमा बेसारको मूल्य गुणस्तर हेरेर दुई ५० देखि तीन सय रुपैयाँसम्म पर्न जाने धनगढीको कामना मसाल उद्योगका प्रबन्धक युवा व्यवसायी पंकज देउवाले बताए । उनका अनुसार यतै उत्पादन भएको वेसारले अहिलेसम्म धानिरहेको छ । सुदुरपश्चिममा उत्पादन भएको वेसारबाट मसलाजन्य उत्पादनहरु भईरहेका छन् ।
सुदुरपश्चिममा बेसार खेतीको स्थिति
सुदुरपश्चिममा वेसार खेती विस्तार हुदै गएको छ । रोपाइँ गरेको ९ महिनापछि बेसारको फसल प्रयोग योग्य रहन्छ । नेपालको हावापानी अनुसार औसत एक रोपनीमा दुई देखि साढे दुई मेटिक टन काँचो बेसार उत्पादन गर्न सकिने एक अध्ययनमा देखिएको छ । सुदुरपश्चिममा १८ हजार चार सय ७७ मेट्रिक टन वेसार उत्पादन हुने गरेको छ । सुदुरपश्चिममा बेसार मसलाबालीको खेती एक हजार चार सय ३९ हेक्टर क्षेत्रफलमा खेती हुने गरेको सुदुरपश्चिम कृषि निर्देशनालयको तथ्यांक छ । कैलालीमा सवैभन्दा वढी ९ सय २५ क्षेत्रफलमा र डडेल्धुरामा सवैभन्दा कम ३० हेक्टर क्षेत्रफलमा वेसार खेती गर्ने गरिएको कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीले जानकारी दिए ।
उनका अनुसार कैलालीपछि कञ्चनपुरमा एक सय ७४ हेक्टर क्षेत्रफलमा वेसार खेती गरिन्छ । दार्चुला पनि कम वेसार खेती हुने जिल्लामा पर्छ । त्यहाँ ३३ हेक्टर क्षेत्रफलमा वेसार खेती हुन्छ । वैतडी, वझांग, डोटी, अछाम र वाजुरामा ४५ देखि ७५ हेक्टर क्षेत्रफलमा वेसनर खेती हुने निर्देशक जोशीले बताए ।
वेसार खेतीको सम्भावना
सुदुरपश्चिममा वेसार खेतीको प्रवल सम्भावना रहेको कृषि निर्देशक जोशी बताउँछन् । उनका अनुसार यसक्षेत्रको हावापानी, माटो वेसार खेतीका लागि उपयुक्त रहेको छ । विभिन्न आयोजना मार्फत अनुदान दिईन थालेपछि वेसार खेती बार्षिक रुपमा वृद्धि हुदै गएको छ । यसमा कुनै पनि रोग नलाग्ने र उवडखावड जमीनमा पनि खेती गर्न सकिने भएकोले यसको सम्भावना राम्रो रहेको छ । यसको बजार पनि प्रशस्त भएकोले राम्रो मुल्य पाउने अवस्था रहेको कृषि निर्देशक जोशीको भनाई छ ।
हावापानी
बेसार खेती गर्मी र आद्र हावापानीमा राम्रो हुने भएता पनि हलुका छायाँ भएको ठाँउमा पनि यो विरुवाको वृद्वि विकास सफलतापुर्वक हुन सक्छ । वेसार खेती समुन्द्र सतहदेखि १६०० मिटरसम्मको उचाईमा गर्न सकिन्छ । यसको सफल खेतीका लागि २०–३० डिग्री सेल्सियस तापक्रमको आवश्यकता पर्दछ । औषत वार्षिक वर्षा १०००–२००० मिलीमिटर हुने क्षेत्रमा विना सिंचाई पनि वेसार खेती सफलतापुर्वक गर्न सकिन्छ । धेरै चिसो र तुषारोले यो वालीलाई नोक्सान गर्दछ ।
माटो
बेसार खेतीको लागि प्रशस्त प्राङ्गारिक मल भएको, पानीको निकासको राम्रो व्यवस्था भएको, पानी नजम्ने हलुका फोक्रो र दुमट माटो उत्तम मानिन्छ । पानीको उचित निकास नभएको ठाउँमा वेसारलाई ड्याङ वनाएर लगाउनु पर्छ । थोरै अम्लिएपना भएको माटो वेसार खेतीको लागि उपयुक्त मानिन्छ भने वढी क्षारयुक्त माटो वेसारको लागि राम्रो मानिदैन । वेसार खेतीको लागि माटोको पि.एच. ५.५– ६.५ उपयुक्त हुन्छ ।
२५ मेट्रिक टन बेसार आयात
नेपालमा चालु आर्थिक बर्षको १० महिनामा २८ करोडको वेसार आयात हुँदा सुदुरपश्चिममा आधा करोड वढीको वेसार आयात भएको छ । देशका अन्य भन्सार नाकाभन्दा कम मात्रामा सामान आयात हुने सुदुरपश्चिमको नाकाबाट चालु आर्थिक बर्षको हालसम्म झण्डै ५५ लाख वढीको वेसार भारतबाट ल्याईएको हो । सुदुरपश्चिममा चालु आर्थिक वर्षको १० महिनामा आधा करोड बढीको बेसार आयात गरेको भन्सार विभागले जनाएको छ । भन्सार विभागले दिएको विवरण अनुसार सुदुरपश्चिममा १० महिनाको अवधिमा ५४ लाख ९३ हजार ८९० रुपैयाको वेसार आयात भएको छ । सुदुरपश्चिमका दुई नाका नित्रगर र गड्डाचौकी भएपनि वेसार भने त्रिनगर नाका भएर मात्रै वेसार आयात भएको छ । कैलालीको त्रिनगर भन्सार भएर चालु आर्थिक बर्षमा झण्डै ५५ लाखको वेसार आयात भएको प्रमुख भन्सार अधिकृत ईश्वर अर्यालले जानकारी गराए । ‘यो नाका भएर निकै कम मात्रामा मात्रै वेसार आउने गरेको छ । वेसारबाट हामीले चालु आर्थिक बर्षमा ५ लाख २५ हजार एक सय ९३ रुपैयाँ राजश्व प्राप्त गरेका छौं ।’ भन्सार अधिकृत अर्यालले भने– ‘यो नाकाबाट तयार पारिरएको वेसारको धुलो हो आउने भनेको । हालसम्म २४ हजार सात सय ४४ किलो वेसार भित्र्याईएको छ ।’ आयात भएको वेसा २४ दशमलव ८ मेटिक टन आयात भएको हो । यो भने सुदुरपश्चिममा उत्पादन हुने बेसारको ०.२ प्रतिशत मात्रै हो ।
कञ्चनपुरको गड्डाचौकी नाका भएर भने वेसार नै आयात भएको छैन र भन्सारबाट आयात हुने सवै चिजहरुको कम्प्युटर प्रणालीमा चढाउने गरिएको छ । भन्सार विभागले नियन्त्रण गर्ने सो प्रणालीमा गड्डाचौकीबाट एक रुपैयाँको पनि वेसार आयात नभएको देखिएको प्रमुख भन्सार अधिकृत नहकुल शर्माले जानकारी दिए । ‘हाम्रो नाकाबाट वेसार आउने तथ्यांक नै छैन् । सानो तिनो पनि व्यवसायिक प्रयोजनको लागि ल्याएको देखिएन् ।’ भन्सार अधिकृत शर्माले भने । कैलालीको त्रिनगर भन्सार नाकाबाट चालु आर्थिक बर्षमा आयात भएको वेसार अघिल्लो आर्थिक बर्षको भन्दा दोब्बर हो । अघिल्लो आर्थिक बर्षमा २६ लाख चार हजार दुई सय पाँच रुपैयाँको वेसार आयात भएको थियो ।
सुदुरपश्चिममा १८ हजार चार सय ७७ मेट्रिक टन वेसार उत्पादन हुने गरेको छ । सुदुरपश्चिममा बेसार मसलाबालीको खेती एक हजार चार सय ३९ हेक्टर क्षेत्रफलमा खेती हुने गरेको सुदुरपश्चिम कृषि निर्देशनालयको तथ्यांक छ । कैलालीमा सवैभन्दा वढी ९ सय २५ क्षेत्रफलमा र डडेल्धुरामा सवैभन्दा कम ३० हेक्टर क्षेत्रफलमा वेसार खेती गर्ने गरिएको कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीले जानकारी दिए । उनका अनुसार कैलालीपछि कञ्चनपुरमा एक सय ७४ हेक्टर क्षेत्रफलमा वेसार खेती गरिन्छ । दार्चुला पनि कम वेसार खेती हुने जिल्लामा पर्छ । त्यहाँ ३३ हेक्टर क्षेत्रफलमा वेसार खेती हुन्छ । वैतडी, वझांग, डोटी, अछाम र वाजुरामा ४५ देखि ७५ हेक्टर क्षेत्रफलमा वेसार खेती हुने निर्देशक जोशीले बताए ।