बाजुरामा निःशुल्क हवाई उद्धार सेवा कार्यक्रम प्रभावकारी बन्दै 
2022/10/08, 11:55
 
ss

बाजुरा-   सरकारले लागु गरेको गर्भवती तथा सुत्केरी महिलाहरूको निःशुल्क हवाई उद्धार सेवा कार्यक्रम बाजुरामा प्रभावकारी बन्दै गइरहेको छ । सरकारले बाजुरा सहित देशका २९ जिल्लमा यो कार्यक्रम लागू गरेको छ ।

सोही अनुसार यहाँ निः शुल्क हवाई उद्धार सेवा कार्यक्रम प्रभावकारी बन्दै गइरहेको हो । बाजुरामा भरपर्दो सडक छैन, अस्पताल छ । तर, गुणस्तरीय सुविधा पुगिसकेको छैन । त्यसैले निःशुल्क हवाई उद्धार कार्यक्रमले भरोसा जगाएको स्थानीयको भनाइ छ ।

बाजुरामा हालसम्म सामान्य अवस्थाबाट सुत्केरी हुन नसकेका २० जना महिलाले सरकारको  निःशुल्क हवाई उद्धार सेवा पाएका छन् । यसबाट आमा र बच्चाको जीवन जोगाउन सजिलो भएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बहादुर विष्टको भनाई छ ।

हाल दुर्गम हिमाली तथा पहाडी क्षेत्रका दार्चुला, बैतडी, बाजुरा, बझाङ, डोटी, अछाम, जाजरकोट, दैलेख मुगु, कालिकोट, जुम्ला, हुम्ला, डोल्पा, ताप्लेजुङ सङ्खुवासभा, भोजपुर,पाँचथर,तेह्रथुम, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा धादिङ, गोरखा मनाङ, मुस्ताङ, म्याग्दी, रोल्पा, रुकुमपुर्व, रुकुमपश्चिम र सल्यानमा यो कार्यक्रम सञ्चालनमा रहेको छ ।