राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष तथा साफ गेममा करातेमा दुई पटक स्वर्ण पदक बिजेता दीपक श्रेष्ठले डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि १० हजार रुपैया सहयोग गरेका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका पूर्व अध्यक्ष तथा ओलम्पियन दीपक बिष्टको अगुवाईमा काठमाण्डौंमा खेलाडीहरु माझ थालिएको सहयोग संकलन अभियानमा करातेका राष्ट्रिय प्रशिक्षक श्रेष्ठले १० हजार रुपैया सहयोग गरेका हुन् ।
उनले थोपा थोपा मिलेर समुन्द्र बने झै सबैको सानो सानो सहयोगले डडेल्धुरामा पीसीआर मेसिन स्थापना गर्ने अभियान सफल हुने बताए । श्रेष्ठ काठमाण्डौं ललितपुरका स्थायी बासिन्दा हुन् । ह्युमानिटी फाउण्डेसन र सुदूर पश्चिम समाज अमेरिकाले डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि थालेको सहयोग संकलन अभियानमा जोडिएर संसारका बिभिन्न देशमा रहेका सुदूर पश्चिमेलीहरुले सहयोग संकलन गरिरहेका छन् ।
काठमाण्डौंमा ह्युमानिटी फाउण्डेसनका संस्थापक अमर बहादुर शाहीको अगुवाईमा सहयोग संकलन भईरहेको छ ।देशभरी २५ वटा पीसीआर मेसिन हुदा कोरोनाको सबैभन्दा उच्च जोखिममा रहेको सुदूर पश्चिममा भने एउटा मात्र पीसीआर मेसिन छ । हाल धनगढीमा रहेको पीसीआर मेसिनले कोरोनाको परीक्षण धान्न नसकेका कारण सुदूर पश्चिममा बेला बेलामा स्वाव संकलन कार्य स्थगित हुदै आएको छ ।