राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटाद्धारा पीसीआर मेसिन खरीदका लागि १० हजार सहयोग
2020/06/27, 7:19
 
jagat

राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटाले डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि १० हजार रुपैया सहयोग गरेका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका पूर्व अध्यक्ष तथा ओलम्पियन दीपक बिष्टको अगुवाईमा काठमाण्डौंमा खेलाडीहरु माझ थालिएको सहयोग संकलन अभियानमा राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक टमाटाले १० हजार रुपैया सहयोग गरेका हुन्  ।

उनले कोरोनाको परीक्षणबाट बञ्चित भएका सुदूर पश्चिममा ७ वटा पहाडी जिल्लाका जनाको कोरोना परीक्षणका लागि डडेल्धुरामा स्थापना गर्न लागिएको पीसीआर मेसिन खरीदका लागि नागरिक स्तरबाट थालिएको अभियानमा सहयोग सुदूर पश्चिमका हरेक नागरिकको कर्तव्य भएको बताए ।

ह्युमानिटी फाउण्डेसन र सुदूर पश्चिम समाज अमेरिकाले डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि थालेको सहयोग संकलन अभियानमा जोडिएर संसारका बिभिन्न देशमा रहेका सुदूर पश्चिमेलीहरुले सहयोग संकलन गरिरहेका छन् । काठमाण्डौंमा ह्युमानिटी फाउण्डेसनका संस्थापक अमर बहादुर शाहीको अगुवाईमा सहयोग संकलन भईरहेको छ ।

देशभरी २५ वटा पीसीआर मेसिन हुदा कोरोनाको सबैभन्दा उच्च जोखिममा रहेको सुदूर पश्चिममा भने एउटा मात्र पीसीआर मेसिन छ ।  हाल धनगढीमा रहेको पीसीआर मेसिनले कोरोनाको परीक्षण धान्न नसकेका कारण सुदूर पश्चिममा बेला बेलामा स्वाव संकलन कार्य स्थगित हुदै आएको छ । सुदूर पश्चिमको प्रयोगशालामा यहाँ संकलित स्वावहरु परीक्षण संभव नभएपछि काठमाण्डौं, सुर्खेत, जुम्लाका प्रयोगशालामा नमूनाहरु परीक्षणका लागि पठाउने गरिएको छ ।