नवौं राष्ट्रिय खेलकुदः रितुको अलराउण्ड प्रदर्शनमा सुदूरपश्चिम विजयी
2022/10/11, 6:43
 
dd

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमले पहिलो जित निकालेको छ । रितु कनौजियाले अलराउण्ड प्रदर्शन गरेपछि सुदूरपश्चिमले मंगलबार भएको दोस्रो खेलमा गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गरेको हो । 

जितपछि सुदूरपश्चिमले समूह ए मा २ खेलबाट २ अंक जोडेको छ । पहिलो खेलमा सुदूरपश्चिम बागमती प्रदेशसँग पराजित भएको थियो । गण्डकीले दिएको ६० रनको लक्ष्य सुदूरपश्चिमले १०।२ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि रितु कनौजियाले २० बल खेल्दै ३ चौका मद्दतमा सर्वाधिक २२ रन बनाइन् । स्नेहा महराले अविजित २१ रन बनाइन् ।

७ रनमै ३ विकेट गुमाए पनि स्नेहा र रितुले ४० रनको साझेदारी गर्दै जितसम्म पुर्‍याए । यशोदा विष्ट २ रनमा अविजित रहिन् ।  गण्डकी प्रदेशकी शिला क्षेत्रीले २ तथा कप्तान सृष्टी जैशीले १ विकेट लिइन् ।  त्यसअघि पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको गण्डकीले २० ओभरमा ५ विकेट गुमाएर ५९ रन बनाएको थियो ।

गण्डकीका लागि सृष्टी जैशीले अविजित रहँदै सर्वाधिक २८ रन बनाइन् । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । सुदूरपश्चिमका लागि रितुले २ विकेट लिइन् भने अनु कडायत, स्नेहा महरा र सावित्री धामीले १-१ विकेट लिइन् । मंगलबार भएको पहिलो खेलमा एपीएफले बागमती प्रदेशलाई ४ विकेटले पराजित गरेको थियो ।