नवौँ राष्ट्रिय खेलकुद : पाँच महिना अगाडि हिँड्नसमेत नसकेकी सन्तोषीले कसरी जितिन् स्वर्ण ?
2022/10/15, 12:21
 
नवौँ राष्ट्रिय खेलकुद : पाँच महिना अगाडि हिँड्नसमेत नसकेकी सन्तोषीले कसरी जितिन् स्वर्ण ?

पोखरा- गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद अन्तर्गतको एथलेटिक्सतर्फ बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण हात पारेकी छन् । पोखरा रंगशालामा भएको महिलातर्फको १० हजार मिटर दौडमा सन्तोषीले स्वर्ण जितेकी हुन् ।

नेपालमा भएको १३ औँ दक्षिण एसियाली खेलकुदमा समेत नेपाललाई स्वर्ण दिलाएकी सन्तोषीले ३६ मिनेट तथा १२.३६ सेकेन्डमा निर्धारित दूरी पुरा गर्दै स्वर्ण हात पार्न सफल भइन् ।

तर २९ वर्षीया सन्तोषीका लागि नवौँ राष्ट्रिय खेलकुदमा स्वर्ण जित्नु त्यति सहज थिएन् । चोटका कारण उनी चैत-बैशाखमा एक महिनासम्म त हिड्नसमेत सकेकी थिइनन् ।

तर स्वदेशी तथा विदेशी प्रशिक्षकको मेहनत र आफ्नै दृढताका कारण उनी मैदानमा मात्र फर्किएकी छैनन्, स्वर्णसमेत हात पारेकी छन् ।

नेपाल पुलिस क्लबकी राजपुरा पछाई (३६ मिनेट तथा २९.४५ सेकेन्ड) तथा नेपाल एपीएफकी पुष्पा भण्डारी (३७ मिनेट तथा ०४.२ सेकेन्ड) लाई पछि पारेकी सन्तोषीको सुरुवात हेर्दा सुस्त देखिन्थ्यो ।

'मेरो लक्ष्य भनेको पदक जित्नुमात्र थियो । कीर्तिमान कायम गर्ने अवस्थामा भएपनि लामो समयदेखिको इन्जुरीका कारण त्रसित थिए । त्यसैले विस्तारै सुरुवात गरे । जहिले पनि अग्रता लिन्थे । दक्षिण एसियाली खेलकुदमा पनि अग्रता लिएरै मेडल जितेको हो । आज निडर भएर कुदेको हो । डराएको थिइन् । तर आफूलाई नियन्त्रणमा राखेर दौडिएकी थिए,' उनले भनिन् ।  

उनी मैदानमा उत्रनु अघि अभ्यास र पढाइको प्रेसरसँगसँगै उनी मानसिक रुपमा फिट थिइनन् । उनको अभ्यासमा निरन्तरता थिएन् ।

'जीवन र दौड समान हुन्, दुबैमा उतारचढाब हुन्छ । लामो समयसम्म विभिन्न खालका इन्जुरी कारण चैत-बैशाखमा एक महिना हिँड्नै नसकेको अवस्थामा पुगेकी थिए । मेरा प्रशिक्षकहरूले आफ्नो अवस्थाअनुसार अगाडी बढ्न प्रेरणा दिनुभयो । घाइते भएपछि परिवारका सदस्यहरू चिन्तित रहेका थिए । तर पनि परिवारको समर्थन थियो । अभ्यास र पढाइका कारण धेरै तनाव भएको थियो,' उनले थपिन् ।

धादिङ घर भएकी सन्तोषी सागमा १० हजार मिटरमा दौडिएपछि पहिलो पटक नवौँ राष्ट्रिय खेलकुदको १० हजार मिटरमा दौडिएकी हुन् ।