सुदूरपश्चिमका दलहरू निर्वाचनमा भाग लिने घोषणापत्र तयार गर्दै
2022/10/18, 3:43
 
सुदूरपश्चिमका दलहरू निर्वाचनमा भाग लिने घोषणापत्र तयार गर्दै

धनगढी- सुदूरपश्चिमका दलहरू निर्वाचनमा भाग लिने घोषणापत्र तयार गर्न थालेका छन्। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिने राजनीतिक दलहरू चुनावी घोषणापत्र लेखनमा जुटेका छन् ।

गठबन्धनमा रहेका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले घोषणपत्र निर्माणका लागि विभिन्न विज्ञसँग छलफल गरिरहेका छन् भने नेकपा एमाले पनि विभिन्न क्षेत्रका विज्ञहरूसँग सुझाव सङ्कलन गरेर घोषणापत्र तयारीमा व्यस्त छ । दलहरूले पाँच वर्षमा कार्यान्वयन गर्न सकिने विषयवस्तु समेटेर घोषणपत्र तयार गर्ने र जनतालाई छुने कार्यक्रम ल्याउने तयारीमा रहेको नेताहरूले बताएका छन् । कांग्रेस कञ्चनपुरका नेता ईश्वरी जोशीले घोषणापत्रमा सबै जनताको भावना समेटिने र आगामी पाँच वर्षमा कार्यान्वयन गर्न सक्ने योजनालाई घोषणापत्रमा समावेश गरिन लागेको बताए । शिक्षा, स्वास्थ्य, रोजगारका विषय समेट्नका लागि विज्ञहरूसँग छलफल गरेर घोषणपत्र तयार हुँदैछु, उनले भने, हाम्रो प्रुमख ऐजेण्डा कञ्चनपुरलाई त्रिदेशीय नाकाका रूपमा विकास गर्ने छ ।

त्यसैगरी एमाले कञ्चनपुरका अध्यक्ष सुरेन्द्र विष्टले चुनावी घोषणापत्र बनाउने गृहकार्य भइरहेको बताए । उनले घोषणापत्र तयार गर्न पार्टीका विभिन्न भ्रातृ सङ्गठनसँग सुझाव सङ्कलन गरिरहेको बताए । ुहामीले पार्टीसँग आबद्ध सङ्गठन र विभिन्न पेसा व्यवसायमा रहेका व्यक्तिसँग सुझाव सङ्कलन गरिराखेका छौँ,उनले भने,अहिले घोषणापत्रको मस्यौदा तयार भइरहेको छ, केही दिनमै जनतालाई छुने गरी घोषणापत्र ल्याउँछौँ । उनले नेता, कार्यकर्ता निर्वाचन क्षेत्रमा परिचालन भएको पनि बताए ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी पनि चुनावी घोषणापत्र तयारीमा व्यस्त छ । राप्रपाका नेता करन पालले पनि पार्टीले घोषणापत्र तयार गरिरहेको बताए । घोषणापत्र निर्माणका लागि सुझाव सङ्कलन गरेर तयार पार्ने काम भइराखेको छु, उनले भने, घोषणापत्रसँगै नेता, कार्यकर्ता चुनावी प्रचारमा खटिएका छन् । चुनाव नजिकिँदै गर्दा दलका शीर्षनेता र कार्यकर्ता निर्वाचन क्षेत्र केन्द्रित हुन थालेका छन् । दलहरूले वडा–वडामा सम्पर्क कार्यालय खोल्ने कार्य तीव्र पारेका छन् भने निर्वाचन परिचालन समिति बनाएरै कार्यकर्तालाई प्रचारमा परिचालन गरेका छन् ।