पिसिआर परिक्षणका लागि महिनौ दिनदेखि क्वारेन्टिनमै बस्नुपर्ने बाध्यता
2020/06/27, 8:44
 
korona

वैतडीको पाटन नगरपालिका ८ का हरिश विष्ट जेठ ९ गतेदेखि पुर्चौंडी नगरपालिका ८ स्थित नेरा मावि क्वारेन्टिनमा बसिरहेका छन ।  उनको आरडीटी रिपोर्ट पोजेटिभ आएपछि स्वाब संकलन गरी पठाइए पनि महिना दिन बितिसक्दा समेत पीसीआर रिपोर्ट नआएपछि उनी अझै क्वारेन्टिनमै छन । उनीसँगै बसिरहेका ४१ जनाको पनि आरडीटी रिपोर्ट पोजेटिभ आएको छ । तीमध्ये २६ जनाको स्वाब संकलन भएको छ भने अन्यको स्वाब संकलन गर्नै बाँकी छ । समयमै रिपोर्ट नआउँदा स्वाब संकलन गरी पठाइएकाहरू आक्रोसित छन् भने आरडीटी पोजेटिभ देखाएर पनि स्वाब नलिएको भन्दै अरू पनि रिसाउन थालेका छन् ।

क्वारेन्टिनमा बसिरहेकाहरूको रिपोर्ट समयमा नआइदिँदा आफूहरूलाई स्थानीय स्तरमा काम गर्न असहज भएको मल्लादेही स्वास्थ्यचौकीका इन्चार्ज हेमराज भट्टले बताए । उनले भने ‘हामीहरू सामान्य परीक्षण गर्न जाँदा रिपोर्ट कहिले आउँछ भनेर सोध्छन् । हामीसँग त्यसको जवाफ हुँदैन ।’ आरडीटी रिपोर्ट पोजेटिभ आएकाहरूको स्वाब संकलन गरी पठाएको र समयमा रिपोर्ट नआउँदा उनीहरूलाई त्यत्तिकै घर पठाउनुपर्ने बाध्यता रहेको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले बताए । ‘आरडीटी पोजेटिभ आएकालाई समयमै रिपोर्ट नआउँदा घर पठाएका छौं । पीसीआर पोजेटिभ देखिएपछि आइसोलेसनमा राख्ने गरेका छौं ।’

पुर्चौंडी नगरपालिका— ८ की तारा विक क्वारेन्टिनमा बसेको एक महिना पुगेको छ । उनको सानो बच्चामा आरडीटी पोजेटिभ आएपछि उनी पनि क्वारेन्टाइनमै बसेकी हुन् । समयमा रिपोर्ट नआउँदा क्वारेन्टिनको बसाई असहज भएको उनको गुनासो छ । उनले भनिन् ‘स–साना बच्चा सहित क्वारेन्टाइनमा बसेका छौं । विद्यालयको छाना चुहिने छ । जेलमा कोचेजस्तै गरी कति दिनसम्म क्वारेन्टाइनमा राखिन्छ ?’ एकै क्वारेन्टिनमा बसेका ४१ जनाको आरडीटी रिपोर्ट पोजेटिभ आएपछि उनीहरूलाई घर पठाउन पनि समस्या भएको मल्लादेही स्वास्थ्यचौकीका इन्चार्ज हेमराज भट्टले बताए ।

जिल्लाका १० ओटै स्थानीय तहमा १ हजार ६ सय बढी नागरिक क्वारेन्टाइनमा छन् । उनीहरूमध्ये धेरै जसो आरडीटी रिपोर्ट पोजेटिभ आएका नागरिक हुन् । उनीहरूको समयमै रिपोर्ट नआउँदा क्वारेन्टाइनमै राखिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । ‘स्वाब संकलन गरिएका पाँच सयभन्दा बढीको अझै रिपोर्ट आउन बाँकी रहेकाले उनीहरू क्वारेन्टाइनमै बसेका छन ।’ उनले भने– ‘आरडीटी पोजेटिभ आएकामध्ये धेरैजसोको स्वाब संकलन पनि बाँकी रहेको छ । भीटीएमको अभावमा स्वाब संकलन गर्न सकिएको छैन । यसले क्वारेन्टाइन व्यवस्थापनमा निकै चुनौती थपिएको छ ।’

क्वारेन्टिनबाट घर पठाएकाहरूमा संक्रमण पुष्टि
वैतडीकै दोगडाकेदार गाउँपालिकाले केही दिन अघि मात्रै क्वारेन्टिनबाट घर पठाएका २९ जनामा संक्रमण पुष्टि भयो । संक्रमण पुष्टि भएपछि उनीहरूलाई घरबाट खोजेर आइसोलेसनमा राखिएको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले बताए । उनले भने ‘महिना दिनसम्म स्वाबको रिपोर्ट आएन । क्वारेन्टिनमा बसेकाहरू आक्रोसित भएपछि बाध्य भएर घर पठायौं । घर पठाएपछि स्वाबको रिपोर्ट पोजेटिभ आयो । पोजेटिभ रिपोर्ट आएकाहरूलाई फेरि खोजेर आइसोलेसनमा राखेका छौं ।’ शिवनाथ गाउँपालिकामा सबैभन्दा बढी संक्रमित छन् । सो गाउँपालिकाका ४८ जनामा संक्रमण पुष्टि भइसकेको छ । क्वारेन्टिनमा बसेको महिना दिन भएपछि धेरैजसोलाई घर पठाइएको थियो ।

रिपोर्ट ढिलो आएपछि संक्रमितहरू अहिले होम आइसोलेसनमै बसिरहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र महतोले बताए । सुदूरपश्चिममा धनगढीमा मात्रै स्वाब नमुना जाँच गर्ने प्रयोगशाला छ । त्यसको दैनिक क्षमता दुुई सय ५० मात्रै हो । ‘६ हजारभन्दा बढी स्वाब काठमाडौं पठाएका छौं’ स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले भने । भारतबाट एकै पटक धेरै मानिसहरू आएकाले, एउटा मात्रै प्रयोगशालाले नधानेको उनको भनाइ छ ।