ब्याडमिन्टनका ‘राजकुमार’
2020/05/12, 3:30
 
prince dhahal

पवन आचार्य- दार्चुला खलंगाका नारायण दाहाल आफ्नो समयका औसत खेलाडी थिए, ब्याडमिन्टनका । तीन छोरीपछि कान्छो सन्तानका रूपमा जन्मिएका छोरालाई उनले दाहाल परिवारको युवराज मानेर नाम दिए— प्रिन्स । उनै प्रिन्स अहिले ब्याडमिन्टनको जुनियरतर्फको विश्व वरीयतामा ७ औं स्थानमा उक्लिएका छन् । छोराले यत्रो सफलता तय गर्ला भन्ने उतिबेलै लागेको भए सायद नारायण र राजुमतीले कान्छाको नाम बादशाह नै जुराउँथे होलान् । हुन पनि इन्डिभिज्युअलतर्फ विश्व वरीयताको यो शीर्ष उचाइ नाप्ने प्रिन्स एक्ला खेलाडी हुन्, ‘ब्याडमिन्टनका बादशाह’ ।

वनको काँडालाई तिखार्न पर्दैन– प्रिन्स पनि वनकै काँडा भएर निक्लिए । ६० सालमा खलंगामा जन्मिएका प्रिन्स ६९ सालमा कृष्णमोहन स्मृति ब्याडमिन्टनमा सहभागिता जनाउन काठमाडौं आउँदा ९ वर्षका मात्रै थिए । खलंगामा बुबासँग ब्याडमिन्टन सिकेको भरमा उनले राष्ट्रिय प्रतियोगितामा त्यति राम्रो छाप छोड्न सकेनन् । पहिलो राउन्डमै पराजित भएर उनी खलंगा नै फर्किर्ए । तर, उनको मनमा ब्याडमिन्टनमा केही गर्ने अठोट बिस्तारै अंकुराउँदै थियो । ‘पहिलो खेलमै पराजित भएर फर्किंदा नरमाइलो लागेको थियो । मैले ब्याडमिन्टन खेल्नै नजानेजस्तो व्यवहार अरूले गर्दा मन दुःखी भयो । तर, बुबाले सम्झाउनुभयो,’ उनले भने ।

अर्को वर्ष प्रिन्सले पुष्पलाल स्मृति ब्याडमिन्टनमा क्वार्टरफाइनलसम्मको यात्रा तय गरे । जुनियर स्पर्धाको सेमिफाइनलको स्पर्धामा पराजित भएपनि उनको प्रदर्शनले पुलिस स्कुलमा भर्ना हुने अवसर जुराइदियो । कक्षा ४ देखि ७ सम्म काभ्रेको साँगास्थित पुलिस स्कुलमा उनले पढाइ मात्रै होइन, ब्याडमिन्टन कौशल पनि तिखार्दै लगे । स्कुलमा पढ्दा उनी ब्याडमिन्टनका अलावा बास्केटबल पनि खेल्थे । तर, प्रशिक्षक पूर्ण थापाले ब्याडमिन्टनप्रतिको उनको लगावलाई देखेर बास्केटबलको लत छुटाए । स्कुलमै रहँदा प्रिन्सले १४, १६ र १९ वर्षमुनिका प्रतियोगितामा आफूलाई प्रमाणित गर्दै लगे । हिमालयन स्कुल च्याम्पियनसिप, जुनियर राष्ट्रिय प्रतियोगितामा प्रथम स्थान हासिल गरेपछि बल्ल यिनमा हौसला पलायो ।

तर, सन् २०१६ मा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न भारतको पूणे पुगेका प्रिन्स दाहालसँगै ८ नेपाली खेलाडी छनोट चरणबाटै बाहिरिए । भारतमा प्रतिस्पर्धा गर्नका लागि काठमाडौंमा आयोजना भएको छनोट स्पर्धामा यिनी आठौं नम्बरमा छानिए । त्यतिबेला यिनलाई आफू त ब्याडमिन्टनको अनाडीजस्तो भान भएछ । भन्छन्, ‘खेल्नै नजानेजस्तो भएर स्ट्रेट सेटमा हार्नुपर्दा निकै नरमाइलो लाग्यो ।’ तर, २०१७ मा सोही प्रतियोगितामा छनोट चरण पार गरेर मुख्य प्रतियोगितासम्म पुग्नु नै यिनको सफलता भयो । गएको वर्ष भने यिनी प्रि–क्वार्टरफाइनलसम्म पुगे । हरेक वर्ष सफलताको सिंढी उक्लिँदै गरेका प्रिन्सलाई एक दिन सो प्रतियोगिताको च्याम्पियन बन्ने धोको छ । जुन अझै मरेको छैन ।

प्रिन्सले १५ वर्षमुनिको स्पर्धामा धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता खेले । म्यानमार र भारतमा हासिल गरेको अनुभवले उनको प्रतिभा तिखार्ने काम मात्रै गरेन, आत्मविश्वास पनि बढाइदियो । त्यसको जगमा उनले सन् २०१८ मा दुबई इन्टरनेसनल सिरिजको १५ वर्षमुनिको स्पर्धामा पहिलो स्थान हात पारे । गत वर्ष उनले १९ वर्षमुनिको स्पर्धामा भारतका वरुण कपुरलाई हराउँदै स्वर्ण जिते । त्यतिबेला वरुण विश्व वरीयताको नवौं स्थानमा थिए । एकपछि अर्को सफलता हात पारेका प्रिन्स त्यसपछि जुनियरको विश्व वरीयतामा अट्न थाले । त्यसअघि ३२ औं स्थानमा रहेका प्रिन्स १४ औं हुँदै हाल सातौंमा छन् ।

प्रिन्सले पछिल्लो केही वर्षयता जुनियर ब्याडमिन्टनमा उच्च प्रदर्शन गर्दै आएका छन् । यसै महिना दुई अन्तर्राष्ट्रिय जुनियर प्रतियोगितामा उनले प्रि–क्वाटरफाइनलसम्मको यात्रा तय गरेका थिए । प्रिन्सले डच जुनियर इन्टरनेसनल तथा जर्मन जुनियर सिरिजमा प्रि–क्वाटरफाइनलसम्मको यात्रा गर्दा ७ खेलमा ५ जित र दुई हारको नतिजा निकालेका हुन् । डच जुनियर इन्टरनेसनलमा प्रिन्सले ३ खेल खेल्दा २ मा जित र एक हार बेहोरे । जर्मन सिरिजमा ४ खेलमा प्रिन्सले ३ जित र १ हारको नतिजा निकाले । त्यसपछि यिनको वरीयतामा लोभलाग्दो सुधार भएको हो ।

सन् २०१९ मै थाइल्यान्डमा भएको योनेक्स सिंघा रोजा जुनियर इन्टरनेसनलमा यिनी दोस्रा भए । सो प्रतियोगिता हेर्न यिनको साथमा आमा राजुमती पनि बैंकक पुगेकी थिइन् । आमाको अगाडि फाइनलमा हार्दा नमज्जा लागेको क्षण प्रिन्सले भुलेका छैनन् । प्रिन्सका आदर्श खेलाडी लिन डान हुन् । चीनका लागि २ पटक ओलम्पिक मेडल र ५ पटक विश्व च्याम्पियनसिप जितेका लिन डानजस्तै कम्तीमा जुनियर ओलम्पिकमा नेपाललाई पदक दिलाउने प्रिन्सको लक्ष्य छ । सन् २०२१ मा हुने जुनियर ओलम्पिकमा छनोट चरण पार गर्दै नेपाललाई पदक दिलाउने योजनामा उनी छन् । शीर्ष १०० मा अटाउनेले बिना वाइल्डकार्ड प्रतिस्पर्धा गर्न पाउने हुँदा प्रिन्स त्यसमा नपर्ने कुरै छैन ।

नेपालमा यिनलाई मन पर्ने खेलाडी रत्नजित तामाङ हुन् । आठौं राष्ट्रिय खेलकुदमा यिनले आफ्नै आदर्श रत्नजितलाई माथ खुवाइदिए । त्यसपछि रत्नजितले दिएको प्रतिक्रिया यिनले अझै भुलेका छैनन् । मुस्कुराउँदै यिनले सुनाए, ‘मसँग हारेपछि रत्न दाइले आएर बधाई दिनुभयो । नेपालबाट ब्याडमिन्टनमा अन्तर्राष्ट्रिय पदक जित्ने अब तँ नै होस् । राम्ररी खेल्नू । अझै प्रगति गर्नू ।’ नख्खुको बुल्स क्लबमा ब्याडमिन्टनसँगै फिटनेसको पनि ट्रेनिङ गर्ने प्रिन्सका गुरु कृष्ण पुन हुन् । गुरुले जुनसुकै समयमा पनि ट्रेनिङको व्यवस्था मिलाएपछि पढाइ र प्रशिक्षणको मेलोमेसो मिलाउन सहज भएको छ अचेल उनलाई । फुर्सद खासै हुन्न प्रिन्सलाई । विश्व वरीयताको सातौं स्थानमा उक्लिएपछि सम्मान थाप्ने क्रमको व्यस्तता बढेको छ ।

विदेश गएका बेला पनि यिनी नयाँनयाँ बाइक र कार अगाडि उभिएर फोटो खिच्न रुचाउँछन् । मामा कमलेश निरौला जो यिनका म्यानेजर पनि हुन्, उनैले भान्जालाई लाइसेन्स नलिएसम्म मोटरसाइकल कुदाउन नदिएका हुन् । तर, मामाको आँखा छलेर र कहिलेकाहीं दार्चुला पुगेका बेला यिनी मोटरसाइकलमा सवार हुन्छन् । १३ औं सागका कांश्यपदक विजेता प्रिन्सले त्यसपछि आयोजित प्रेसिडेन्ट कप नेपाल इन्टरनेसनल सिरिजमा पुरुष एकल र डबल्समा दोस्रो स्थान हासिल गरे । उनलाई पनि इन्डिभिज्युल स्पर्धा बढी मन पर्छ । भन्छन्, ‘अरूसँग तालमेल गर्नुपर्ने अवस्था आउँदा आफूले मात्रै उत्कृष्ट प्रदर्शन गरेर हुन्न । अरूमा पनि निर्भर हुनुपर्ने भएपछि त्यति मजा पनि आउँदैन ।’

प्रिन्सको अबको लक्ष्य भनेकै बुबाले खेलाडीका रूपमा देशलाई दिलाउन नसकेको ठूलो अन्तर्राष्ट्रिय पदक भित्राउने हो । हुन त बुबा नारायण त्यति कहलिएका खेलाडी थिएनन् । अहिले भने, उनी प्रिन्स दाहालको बुबाका रूपमा कहलिन थालेका छन् ।