नेताले समृद्धिका नारा लगाए पनि बैतडीका आठवटा खानी अलपत्र परेका छन् । रोजगारी खोज्न युवा विदेशिनुपर्ने पीडा कायमै छ। बैतडीको सिगास गाउँपालिका–१, सुगरखालमा रहेको फलाम खानीमा ३८ प्रतिशत म्याग्नाइट आइरन रहेको परीक्षणबाट पुस्टि भए पनि सडक र बिजुली नहुँदा फलाम खानी उत्खनन हुन सकेको छैन।
बैतडी–बझाङ जोड्ने जयपृथ्वी मार्गको बिन्द्रावन पक्की सडकबाट करिब तीन किलोमिटर मात्रै टाढा रहेको फलाम खानीसम्म गतिलो सडक र बिजुली पुग्न सकेको छैन। जबकि फलाम खानी रहेकै क्षेत्रका आकाशबाट ३० मेघावाट चमेलिया जलविद्युत्का तार राष्ट्रिय प्रसारण लाइनमा जोडिएका छन्। दुई वर्षअघि खानी तथा भूगर्भ विभागबाट अनुमति लिएर शुभम् मिनरल्स प्राइभेट लिमिटेडले फलाम खोज तथा अनुसन्धान गर्दा बैतडीको सिगास गाउँपालिका–१, सुगरखालको लुहारपानीमा फलाम खानी भेटिएको हो।
फलाम खानी उत्खननअघि आवश्यक भौतिक पूर्वाधार सडक र बिजुलीका लागि स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारलाई अनुरोध गरिएको कम्पनीका श्याम अधिकारीले बताए। अहिले पनि देख्न सकिन्छ। फलाम खानी बन्द भएपछि ती खाल्डामा स्थानीयले फोहोर र मरेका पशुचौपाया फाल्ने गरेका छन्।
खानी बन्द भएपछि फलाम उत्खनन गरेर विभिन्न औजार बनाउने चलनसमेत हराएपछि विदेशबाट आयात गरिने प्लास्टिक र सिल्बरका भाँडावर्तनको प्रयोग बढेको छ। खानीबाट उत्खनन गरेर निकालिएको फलामबाट बनेका पुरचौडे भदेला ९कराई० अहिले पनि सुदूरपश्चिम क्षेत्रको जनबोलीमा झुन्डिएको छ। फलाम खानी बन्द भएपछि यहाँका परम्परागत आरनहरू बन्द भएका छन्।
अनुसन्धान भयो, काम भएन
ढटेलोको तेल बारे अनुसन्धान गर्न पूर्वी नेपालको धनकुटाबाट बैतडी पुग्नुभएका कृषिविज्ञ जीवनप्रसाद राईले बैतडीमा जताततै पाइने ढटेलोको तेल निकालेर निर्यात गर्न सके ढटेलोबाटै समृद्ध बैतडी बन्न सक्ने सम्भावना रहेको बताए।
तेखिमे कृषि परामर्श सेवा फर्मका निर्देशकसमेत रहनुभएका राईले बैतडीको सुर्नया गाउँपालिकालगायत विभिन्न स्थानीय तहमा ढटेलोको सम्भावना अध्ययन गरेका छन्। राईका अनुसार बैतडीमा ढटेलो प्रशस्तै मात्रामा रहे पनि यसको उपयोग हुन नसकेको बताए।
कर्णाली प्रदेश नेपालमा गाभिनुपूर्व १८४६ मा कर्णाली राज्यले ढटेलोको तेल तिब्बतसित बेचेर आफैँमा समृद्ध बनेको कृषिविज्ञ जीवनप्रसाद राईले बताए। चार किलो ढटेलो सुकाएर यसको दुई किलो बियाँबाट एक लिटर तेल निकाल्न सकिन्छ। वर्षमा ५० हजार लिटर तेल निकाल्न सकियो भने एक हजार एक सय रुपियाँ प्रतिलिटरका दरले पाँच करोड रुपियाँ आम्दानी हुन सक्ने सम्भावना रहेको कृषिविज्ञ राईले बताए।
ढटेलोको दानाबाट निस्कने तेल नेपालबाट युरोप जान थाले पनि बैतडीले माल पाएर पनि चाल पाएको छैन। ढटेलोको तेल एक हजार एक सय रुपियाँमा हिमालयन बायो ट्रेड लिमिटेडले युरोप निर्यात गरिरहेको उनले बताए ।
वैद्यले प्रयोग गर्छन् ढटेलो
आयुर्वेदिक औषधिमा ढटेलोको प्रयोग अहिले पनि भइरहेको बैतडीका प्रचलित वैद्य भोजराज भट्टले बताए। ढटेलोको प्रयोगले पेट सफा गरेर विभिन्न रोग निको हुने, तेल मालिस गरे जोर्नीको दुःखाई र बाथ रोगसमेत ठीक हुने वैद्य भोजराज भट्टले बताए।
ढटेलो वनस्पति समुद्र सतहदेखि एक हजार दुई सय मिटरभन्दा माथि दुई हजार सात सय मिटरसम्म पाइने र खेती गर्न सकिने वनस्पति भएको उहाँले बताए।