भोट माग्न नेता गाउँमा, किसान खेतमा, मत बदर हुने चिन्ता
2022/11/02, 1:37
 
ss

दलका नेताहरु भोट माग्न गाउँ पुगिरहेको बेला कैलालीका किसानलाई भने अहिले धान भित्र्याउन भ्याइनभ्याइ भएको छ । चाडपर्व सकिएपछि नेता भोट माग्न गाउँ–गाउँ पुग्दैछन्, तर, किसान भने खेतमा छन् ।

पाकेर धान बिग्रिने अवस्थामा पुगिसकेकाले किसान धमाधम धान भित्र्याउने कार्यमा जुटेका हुन। उनीहरुले यस वर्षको तिहारमासमेत खेतको काम रोकेनन । धान बढी पाकेर बाला टुट्ने अवस्थामा पुगेकाले चाडपर्वसमेत नमानेर धान भित्र्याउने कार्य गरेको कैलारी गाउँपालिका–७ का कृषक खोजरामीदेवी चौधरीले बताइन् ।

‘खेतमा पानी भएको कारण काट्न समस्या भएको थियो । पानी सुक्न दिँदासम्म बाला झर्न थालेको छ’, उनले भनिन्,‘बढी पाकेर धानको बाला झर्न थालेकाले भित्र्याउन भ्याइनभ्याइ छ ।’ धमाधम धान काटेर खेतमै थ्रेसिङ गर्दै भित्र्याउने कार्य गरिरहेको चौधरीले बताइन् ।

आसन्न निर्वाचनको सन्दर्भमा नेताहरु अहिले गाउँघर पुगिरहेका छन् । उनीहरु भोट माग्नका लागि गाउँ पुग्दा किसान भने खेतमै छन् । कतिपय नेताहरु मतदाता भेटघाट गर्न र भोट माग्नका लागि खेतमै पुगिरहेका छन् । किसानलाई भने नेताका कुरा र भाषण सुन्न पटक्कै फुर्सद छैन । मारामार काम रहेकाले अहिले नेताहरुका कुरा सुन्ने फुर्सद नरहेको कृषक चौधरी बताउँछिन् । 
केही किसानले धान काटेर सके पनि धेरैजसो किसानको धान अझै खेतमै रहेको भजनी नगरपालिका–७ हिम्मतपुरका कृषक खुशीराम चौधरीले बताए । उनले खेतमा किसानलाई कामैकाम रहेको उल्लेख गरे ।

‘धान काट्न्, थ्रेसिङ गर्ने, दाना भित्र्याउने लगायत हामी किसानलाई कामैकाम छ’, चौधरीले भने,‘खेतीपातीको कामका कारण यसवर्ष चाडपर्वसमेत राम्ररी मनाइएन ।’ अहिले गाउँमा कम मान्छे भेटिने गरेकाले भोट माग्न आएका नेताहरु खेततिरै किसानलाई भेटघाट गरिरहेको उनको भनाइ छ । 

गतसाल बाढीले धान पूरै नोक्सान गरेको बेला किसानलाई उपयुक्त राहत उपलब्ध गराउनका लागि कोही पनि नेता नबोलेको किसानले गुनासो गरेका छन् । ‘बाढीले नोक्सान गरेपछि हामी समस्यामा हुँदा कसैले हेरेन’, कृषक महावीर चौधरीले भने,‘अहिले चुनाव आएपछि यो गर्छौँ, त्यो गर्छौँ भनेर नेताहरु गाउँघर आउन थालेका छन् । भोट माग्ने बेलामामात्रै त हुन मुख देखाउने ।’ उनले किसानलाई नेताहरुले भोट बैंकको रुपमामात्रै प्रयोग गरिरहेको उल्लेख गर्दै किसानका समस्याप्रति कोही गम्भीर नभएको आरोप लगाए ।

‘खेतीपातीको बेला मल मिल्दैन । बीउबिजन समयमा पाइदैन’, उनले थपे,‘यस्ता यावत समस्या हामी किसानका छन्, यसबारे कोही नेताले बोल्दैनन् ।’ तोरी र गहुँ खेतीको सिजन आइसकेको उल्लेख गर्दै चौधरीले अब किसानलाई मल पाउनकै लागि समस्या हुने बताए । 

कैलालीमा असोज २१ गतदेखि केहीदिनसम्म भएको वर्षाले धान खेती केही हद्सम्म प्रभावित भएको छ । गतको बेमौसमी वर्षा र बाढीले गरे जस्तो क्षति नभए पनि कतिपयको धान बोटमै उम्रेको थियो । धेरै समयसम्म पानी जमेका कारण किसानले बेलैमा धान भित्र्याउन सकेनन् । खेतमा भएको पानी सुकेपछि अहिले किसानलाई धान भित्र्याउने चटारो चलेको छ । 

त्यतिमात्रै हैन, यो जिल्लामा जंगली हात्तीको झुन्डसमेत पुगिसकेकाले उनीहरुलाई वन्यजन्तुको पनि डर छ । हात्तीले धान खाने र नोक्सान गर्ने गरेकाले उनीहरुलाई धान काट्ने चटारो चलेको छ । किसान धान काट्दै खेतमै थ्रेसिङ गरेर अहिले दानामात्रै भित्र्याइरहेका छन् । आवश्यकतानुसार पछि पराल भित्र्याउने किसानको भनाइ छ । 

कृषि ज्ञान केन्द्रका अनुसार कैलालीमा यसवर्ष ६९ हजार ५०० हेक्टर जमिनमा धान खेती गरिएको छ । जसमध्ये बाढीले करिब १०र१२ प्रतिशत धान बालीमा क्षति गरेको छ । गत असोजमा आएको बाढीले जिल्लाको भजनी नगरपालिका, कैलारी गाउँपालिका, टीकापुर नगरपालिका र जोशीपुरमा धान बालीमा केही हद्सम्म नोक्सान गरेको हो । नदी आसपासको खेतमा बढी नोक्सान भएको थियो । 

मत बदर हुने चिन्ता
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको मिति नजिक आइरहेको बेला मतदान कसरी गर्ने भन्नेमा मतदाता अन्योलमा परेका छन् ।  निर्वाचन आयोगले समयमै मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगर्दा मतदातामा  मत बदर हुने चिन्तासमेत बढेको छ । जिल्ला निर्वाचन कार्यालय बैतडीका अनुसार २०७४ सालको प्रतिनिधिसभाकोे  निर्वाचनमा जिल्लाभर ७६ हजार एक सय मत खसेकामा सात हजार ५४ मत बदर भएको थियो ।

आसन्न निर्वाचन नजिकै आइसके पनि  मतदान कसरी गर्ने भनेर अलमल भएको दोगडाकेदार–३ श्रीकोटका हेमराज गिरीले बताए । मतदान कसरी गर्ने भन्नेबारे अन्योल छ । भोट हाल्ने तरिकाबारे थाहा नभएकाले अन्योलता छाएको छ ।

उनले भने, ‘मतदान कसरी गर्ने, कति मतपत्र हुन्छ भन्नेबारे हमी अलमलमा छौँ, मतदाता शिक्षा कार्यक्रम सञ्चालन नहुँदा मतदान गर्ने तरिकाबारे थाहा  हुन सकेको छैन ।’ यसले गर्दा  बदर मतको सङ्ख्या बढ्ने अनुमान गरिएको छ ।   गएको स्थानीय तहको निर्वाचनमा समेत मतदाता शिक्षा सञ्चालन हुन सकेको थिएन ।

‘यही कात्तिक १८ देखि मङ्सिर १ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने भनिएको छ । जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालले भने, ‘सो अवधिभर मतदाता शिक्षा कार्यक्रम समुदायस्तरमै सञ्चालन हुन्छ, त्यसका लागि प्रत्येक वडामा कम्तीमा एकजना स्वयंसेवक खटाइन्छ ।’ कम्तीमा १० क्रक्षा पास भएका महिला स्वास्थ्य स्वयंसेविकालाई सम्बन्धित स्थानीय तहले नियुक्त गरेर समुदायस्तरमै  गएर मतदातालाई सिकाउने भनेर आयोगबाट निर्देशन आएको निर्वाचन अधिकारी फुँयालको भनाइ थियो ।

मतदाता शिक्षाले बदर मतको सङ्ख्या घटाउने निर्वाचन कार्यालयको जिकिर  छ । यसपटक मतदाताले चार मतपत्रमा छाप लगाउनुपर्नेछ । प्रत्यक्षतर्फ प्रतिनिधिसभा र प्रदेशसभाका लागि एक÷एक र समानुपातिकका लागि पनि प्रतिनिधिसभा र प्रदेशसभाका लागि एक–एक गरेर चार मतपत्रमा  छाप लगाउनुपर्नेछ । जिल्लामा  प्रतिनिधिसभा सदस्यका लागि एक मात्र क्षेत्र रहेको छ । यहाँ एक लाख ५० हजार एक सय ५६ मतदाता छन् ।