मङ्गलबारको भूकम्पपछि सुदूरपश्चिममा ४ सय बढी परकम्प, जोखिम कायमै
2022/11/13, 10:57
 
मङ्गलबारको भूकम्पपछि सुदूरपश्चिममा ४ सय बढी परकम्प, जोखिम कायमै

धनगढी: गत मङ्गलवार राति गएको भूकम्पपछि सुदूरपश्चिममा चार सय बढी परकम्प गएको छ। मङ्गलवारयता प्रदेशमा लगातारजसो परकम्प गइरहेको हो।

मङ्गलवार राति डोटीमा ९ बजेर ७ मिनेटमा ५ दशमलव ७ रेक्टर स्केलको, ९ बजेर ५६ मिनेटमा ४ दशमलव १ र राति २ बजेर १२ मिनेटमा ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो। त्यसपछि अहिलेसम्म चार सय वटाभन्दा बढी परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले बताए।

शनिवार बेलुकी पनि बझाङमा ५ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो। नेपाल भूकम्पको जोखिमयुक्त क्षेत्रमा पर्ने, त्यसमा पनि पश्चिमी क्षेत्रमा लामो समयदेखि ठुलो भूकम्प नगएकाले जोखिम धेरै रहेको उनले बताए। विक्रम सम्वत् १५०५ सालमा पश्चिमी क्षेत्रमा ठूलो भूकम्प गएको विभिन्न अध्ययनले देखाएका छन्। तर, त्यतिबेला मापन सुरु भइनसकेकाले कति रेक्टर स्केलको भूकम्प गएको थियो भन्ने यकिन भने छैन।

त्यसपछि पश्चिमी क्षेत्रमा ठूलो भूकम्प नगएकाले पनि भूकम्पीय जोखिम धेरै रहेको हुनसक्ने भूकम्पविद् भट्टराईले बताए। पश्चिमी क्षेत्रमा थुप्रिएको शक्ति अहिले गइरहेको स–साना भूकम्प वा परकम्पपछि तितरबितर हुन र नहुन सक्ने दुवै सम्भावना उहेको उनले बताए। भूकम्पको जोखिम उच्च नै रहेकाले सावधानी अपनाउनु आवश्यक रहेको उनले बताए।