बाजुराका विद्यार्थी नेता चेतनदीप अयडीको शव सोमबार उठाइने भएको छ। अनेरास्ववियु केन्द्रीय सदस्य अयडीको शव आज नौ दिनपछि उठाइने भएको हो।
मसिंर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पश्चात अयडीको शव श्रद्धाञ्जलीका लागि खुलामञ्चमा राखिने नेकपा एमाले बाजुराका सचिव भरत थापाले बताए। त्यसपछि उनको शव दाहसंस्कारका लागि लगिने बताइएको छ।
निर्वाचनका दिन घरभित्रबाटै अयडीलाई तानेर ल्याएर कांग्रेस कार्यकर्ताले निर्घात कुटपिट गरेका बताइएको छ। कुटपिटबाट घाइते भएका उनलाई उपचारका लागि अछामको बयलपाटा अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।
बयलपाटा अस्पतालबाट ल्याएर पोष्टमार्टमका लागि चेतनको शव जिल्ला अस्पताल बाजुरामा राखिएको थियो। नेकपा एमाले बाजुराले चेतनका हत्यारा प्रक्राउ गरी दोषिमाथि कारबाहीको माग गर्दै मंसिर ५ गतेदेखि बाजुरामा आन्दोलन गरिरहेको छ।
त्रिवेणी नगरपालिका-७ स्थित नाटेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा विवाद भई तनावपूर्ण स्थिति सिर्जना भएपछि सुरक्षाकर्मीले गोली समेत चलाएका थिए। सुरक्षाकर्मीले चलाएको गोली लागेर त्रिवेणी ७ का सञ्जिव अयडीको मृत्यु भएको थियो। उनको गत शुक्रबार दाहसंस्कार गरिएको छ।