स्वास्थ्य कार्यालय कैलालीले यस वर्ष ४ सय दम्पतिको निःशुल्क स्थायी बन्ध्याकरण गर्ने भएको छ। स्वास्थ कार्यालय कैलालीका परिवार नियोजन अधिकृत ओलट नारायण चापागाईले सन्तानको रहर पुगेका ४ सय दम्पतिको निःशुल्क स्थायी बन्ध्याकरण गर्ने लक्ष्य लिएको बताए।
स्वास्थ्य कार्यालय कैलाली र परिवार नियोजन संघ कैलालीले जिल्लामा चालु आर्थिक बर्षमा सन्तानको रहर पुगेका ४ सय जनाको स्थायी बन्ध्याकरण गर्न लागेको हो। जस अन्तर्गत मिनिल्याप र भ्यासेक्टोमी गराइने छ। परिवार नियोजन अधिकृत चापागाईले कैलालीका १२ वटै पालिकामा मिनिल्याप र भ्यासेक्टोमी क्याम्प सञ्चालन गरिने बताए ।
‘सो लक्ष्य अन्तरगत अहिले सम्म हामीले चुरे गाउँपालिका र गोदावरी गाउँपालिकामा क्याम्प संचालन गरिसकेका छौ’ उनले भने ‘अब नियमित रुपमा मोहन्याल गाउँपालिका बाहेकका सबै पालिकामा क्याम्प संचालन गरिने छ।’ उनले मोहन्याल गाउँपालिकामा पुर्वाधारको अभावका कारण क्याम्प संचालन नगरिएको बताए।
कार्यक्रम अन्तर्गत चुरे गाउँपालिकाको सहजपुरमा शुक्रबार शिविर संचालन गरिएको थियो। जसमा २२ जना सहभागी भएका थिए भने गोदावरीमा शनिबार संचालन गरिएको शिविरमा २७ जनाले सेवा लिएका छन्। जसमा २४ जना महिलाले मिनिल्याप र ३ जना पुरुषले भ्यासेक्टोमी गराएको परिवार नियोजन अधिकृत चापागाईले बताए।
स्वास्थ्य कार्यालय कैलालीले गत आर्थिक बर्ष कैलालीमा संचालन गरेको शिविरमा २४७ जनाले स्थायी बन्ध्याकरण गराएका थिए।