बाजुरा जिल्लाको पूर्वीउत्तर क्षेत्रमा पर्ने स्वामिकार्तिक गाउँपालिका–१ मुक्तिकोटकी १८ वर्षीय पवित्रा कडारालाई आज हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
पवित्रा कडारालाई सुत्केरी व्यथा लागेपछि मङ्सिर २५ गते सामुदायिक इकाई स्वास्थ्य केन्द्र फयालगाउँमा ल्याएर भर्ना गरिएको थियो ।त्यस स्वास्थ्य इकाई केन्द्रमा पवित्रा कडारा सुरक्षित प्रसूति गराउन नसकेपछि आज हेलिकप्टरमार्फत सुर्खेत पठाइएको हो ।
सोमबार स्वास्थ्य केन्द्रबाट रिफर गरिएको भए पनि आज मात्र राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उहाँको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । जिल्ला प्रशासन कार्यालय बाजुराका सूचना अधिकारी लोकेन्द्रबहादुर विष्टले स्थानीय स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले जिल्ला प्रशासन कार्यालय बाजुराको समन्वयमा हेलिकप्टरमार्फत सुर्खेत पठाइएको बताए ।