धनगढी - सुदूरपश्चिममा नेकपा एमाले प्रतिनिधि सभातर्फ ७ जिल्ला र प्रदेश सभातर्फ ६ जिल्लामा निल भएको छ। मङ्सिर–४ गते भएको प्रतिनिधि तथा प्रदेश सभाको प्रत्यक्ष निर्वाचन प्रणालीमा एमालेले प्रदेशतर्फ तीन र प्रतिनिधि सभातर्फ दुई जिल्लामा मात्रै जित हासिल गर्न सकेको हो । प्रदेशका ९ जिल्ला मध्य नेकपा एमालेले प्रतिनिधि सभातर्फ कञ्चनपुर क्षेत्र नम्बर–१ र बैतडीमा मात्रै सफलता पाएको हो।
कञ्चनपुर क्षेत्र नम्बर–१ बाट नेकपा एमालेका तारालामा तामाङ र बैतडीबाट दामोदर भण्डारी विजयी भएका हुन्। प्रत्यक्षतर्फका १६ मध्य १५ स्थानमा उम्मेदवारी दिएको एमालेले १३ स्थानमा पराजय व्यहोरेको हो,भने ७ जिल्लाबाट नै निल भएको हो। नेकपा एमाले प्रतिनिधि सभातर्फ कैलाली, डडेल्धुरा, डोटी, अछाम, बाजुरा, बझाङ र दार्चुलामा नील भएको हो।
प्रदेश सभातर्फ नेकपा एमालेले कञ्चनपुर क्षेत्र नम्बर–१ को प्रदेश क्षेत्र (क), बैतडीको प्रदेश सभा क्षेत्र (क) र डोटीको प्रदेश सभा क्षेत्र क मा मात्रै जीत हासिल गरेको हो । प्रदेश सभामा एमालेबाट कञ्चनपुर क्षेत्र नम्बर–३ को प्रदेश सभा क्षेत्र (क) मा वीरबहादुर थापा, डोटी प्रदेश सभा (क) मा चक्र मल्ल र बैतडी प्रदेश सभा क्षेत्र (क) मा सुरेन्द्र पाल निर्वाचित भएका हुन्। प्रत्यक्षतर्फ प्रदेश सभाका ३२ निर्वाचन क्षेत्र मध्य ३१ ठाउँमा उम्मेदवारी दिएको एमालेले २८ प्रदेश सभा क्षेत्रमा पराजय व्यहोरेको हो, भने ६ जिल्लामा निल भएको हो । नेकपा एमाले प्रदेश सभातर्फ कैलाली, डडेल्धुरा, अछाम, बाजुरा, बझाङ र दार्चुलामा निल भएको हो । –न्युज कारखाना