प्रदेश सभा बैठकको लागि यस्तो छ तयारी
2022/12/17, 4:47
 
ss

सुदूरपश्चिम प्रदेश सभाले दोस्रो पाँच वर्षीय कार्यकालको लागि नयाँ प्रदेश सभा सदस्य पाइसकेको छ । मङ्सिर ४ गते भएको निर्वाचनबाट प्रदेशले नयाँ सदस्य पाएको हो । प्रदेश सभाका लागि नयाँ सदस्य चयन भइसकेपछि प्रदेश सभा सचिवालय प्रदेश सभाको पहिलो बैठक गराउनका लागि कस्सिएको छ । पहिलो बैठकका लागि तयारी पूरा भइसकेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

नेपालमा २०७४ बाट प्रदेश सदनको अभ्यास भइरहेको छ । सचिवालयका अनुसार पहिलो बैठकका लागि प्रदेश सभा हलभित्र सम्पूर्ण तयारी भइसकेको छ । कुर्सी, टेबल मिलाउने लगायत सभा हलभित्रको तयारी भइसकेको सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए । ‘हलको व्यवस्थापन सकिएको छ’, उनले भने ।

सूचना अधिकारी जैशीका अनुसार पहिले जे जस्तो थियो, त्यसरी नै हल व्यवस्थापन गरिएको छ । बाहिर भने खासै केही गर्नु पर्ने आवश्यक छैन । पहिले पनि भवनको रङ्गरोगन भएकाले यस पटक रङ्गरोगन गर्न आवश्यक नभएको जनाइएको छ । तर, बाहिर रहेको विषयगत समितिका भवनतिर भने व्यवस्थापनको कार्य भइरहेको छ ।

धनगढी बजारभित्रको सडक फराकिलो बनाउने क्रममा विषयगत समितिका कार्यालय रहेको भवनको केही भाग भत्काइएको थियो । त्यो बनाउने कार्य भइरहेको जैशीले जानकारी दिए । ‘बाँकी कागजात लगायत अन्य कुरा हाम्रो पुरानै रहेको छ’, उनले भने,‘बैठकका लागि हामीले सबै तयारी पूरा गरिसकेका छौं ।’

प्रदेश सभाको पहिलो बैठक कहिले बस्ने भन्नेबारे अझै यकिन भइसकेको छैन । बैठकका लागि निर्वाचन आयोगले प्रदेश प्रमुखको कार्यालयलाई पत्र पठाउने व्यवस्था छ । त्यसपछि प्रदेश प्रमुखको कार्यालयले प्रदेश सभा सचिवालयलाई लेखी पठाउने र सोको आधारमा सबै प्रदेश सभा सदस्यको व्यक्तिगत विवरण सचिवालयले सङ्कलन गर्ने जैशीले बताए ।

‘त्यसपछि प्रदेश सभा सदस्यमा निर्वाचित सबैभन्दा ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखले शपथ ग्रहण गराउनु हुनेछ । र, शपथ ग्रहणपछि सोही ज्येष्ठ प्रदेश सभा सदस्यले अन्य सदस्यहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनु हुनेछ’, उनले भने । यस पटक प्रदेश सभा सचिवालयको प्राङ्गनमै टेन्ट तानेर प्रदेश सभा सदस्यहरुलाई शपथ ग्रहण गराउने कुरो चलिरहेको सूचना अधिकारी जैशीले बताए ।

प्रदेश सभा सदस्यहरुको शपथ ग्रहणपछि प्रदेश प्रमुखले सभाको पहिलो बैठक आह्वान गर्ने जनाइएको छ । पहिलो बैठक र सभामुख तथा उपसभामुखको निर्वाचन नहुँदासम्म प्रदेश सभा बैठकको अध्यक्षता ज्येष्ठ सदस्यले नै गर्ने व्यवस्था रहेको छ ।

सभामुख, उपसभामुखको निर्वाचनसहित प्रदेश सरकारको गठनपछि भने प्रदेश सभामा सत्तापक्षको एकातिर र प्रतिपक्षको अर्कोतिर टेबुल, कुर्सी राखिने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।सुदूरपश्चिम प्रदेश सभामा यस पटकको चुनावबाट छ राजनीतिक दल र एक स्वतन्त्रको प्रतिनिधित्व भएको छ ।

१९ जना सदस्य रहेको नेपाली कांग्रेस प्रदेश सभामा सबैभन्दा ठूलो दल बनेको छ । यसैगरी, ११ सदस्य रहेको नेकपा ९माओवादी केन्द्र० दोस्रो ठूलो, १० सदस्य रहेको नेकपा ९एमाले० तेस्रो, सात सदस्य रहेको नागरिक उन्मुक्ति पार्टी चौथो दल बनेको छ ।

यसअघि, सुदूरपश्चिम प्रदेश सभामा ठूलो दल रहेको नेकपा ९एकीकृत समाजवादी० भने चार सदस्यसहित पाँचौ स्थानमा झरेको छ । त्यस्तै, प्रत्यक्षतर्फ नजिते पनि समानुपातिकबाट एक सदस्यका साथ प्रदेश सभामा ‘इन्ट्री’ गरेको राप्रपा अन्तिम स्थानमा छ । एक जना स्वतन्त्रबाट निर्वाचन सदस्य छन् ।अघिल्लो प्रदेश सभा सदस्यको कार्यकालमा पनि प्रदेश सभामा छ राजनीतिक दलको प्रतिनिधित्व थियो । यस पटक दुई राजनीतिक दल नागरिक उन्मुक्ति र राप्रपाले प्रदेश सभामा आउँदा जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी प्रदेश सभाबाट बाहिरिएका छन् । अघिल्लो कार्यकालमा दुवै दलबाट एक÷एक जना प्रदेश सभा सदस्य थिए ।

पहिलो प्रदेश सभा सदस्यको पाँच वर्षे कार्यकालमा प्रदेश सभाबाट ६६ वटा विधेयक पास भएको थियो । जसमध्ये ११ वटा बजेट कार्यान्वयन सम्बन्धी विधेयक र ११ वटा संशोधन विधेयक रहेको थियो । तर, पाँच वर्षमा मूल कानून ४४ वटा बनेको सूचना अधिकारी जैशीले उल्लेख गरे।

सुदूरपश्चिम प्रदेशसभाका निवर्तमान चार सदस्य पुनः दोस्रो कार्यकालका लागि प्रत्यक्ष निर्वाचनमार्फत निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रका मानबहादुर धामी दार्चुलाबाट र अक्कलबहादुर रावल अछामबाट दोस्रो पटक पनि निर्वाचित भएका छन् । यस्तै नेकपा एकीकृत समाजवादी का दीर्घबहादुर सोडारी कैलालीबाट र प्रकाशबहादुर रावल कञ्चनपुरबाट पुनः प्रदेशसभामा निर्वाचित भएका छन्  ।

यो पटक कांग्रेस नेता डिल्लीराज पन्त प्रदेशको राजधानीसमेत रहेको कैलाली–५ बाट र एमाले नेता तारालामा तामाङ कञ्चनपुर–१ को प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । यसअघि उनिहरू दुवै जना प्रदेशसभा सदस्य रहेका छन् । प्रत्यक्ष निर्वाचनमा टिकट पाएका १२ जना प्रदेशसभाका पूर्वसदस्यले भने यो पटकको चुनावमा पराजय बेहोर्नुपरेको छ । प्रदेशसभा सदस्यमा निर्वाचित हुने ४९ जना नयाँ अनुहार छन् ।