सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी समक्ष निर्वाचन आयोगले प्रदेशसभा सदस्य निर्वाचन परिणाम प्रतिवेदन पेस गरेको छ । प्रदेश प्रमुखको कार्यालय धनगढीमा शनिबार एक कार्यक्रमका बीच प्रदेश प्रमुख जोशी समक्ष निर्वाचन आयुक्त डा। जानकी कुमारी तुलाधरले प्रदेशसभा सदस्य निर्वाचन २०७९ को अन्तिम परिणामसहितको प्रतिवेदन पेस गरेकी हुन् ।
त्यस क्रममा निर्वाचन आयुक्त तुलाधरले सुदूरपश्चिम प्रदेशसभा तर्फ ५३ जना निर्वाचित भएको जानकारी दिइन् । जसमा पुरुष ३५ जना ६६ दशमलव ०३ प्रतिशत र महिला १८ जना ३३ दशमलव ९७ प्रतिशत निर्वाचित भएको उनले बताइन् । प्रदेशसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ३२ जना र समानुपातिक तर्फ २१ जना निर्वाचित भएको यस प्रदेशसभामा ६ राजनीतिक दलको प्रतिनिधित्व भएको छ ।
आयोगका अनुसार सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १९ जना, एमाले १० जना, माओवादी केन्द्र ११ जना, नागरिक उन्मुक्ति ७ जना, नेकपा एस ४ जना, राप्रपा १ जना र स्वतन्त्र १ जना सदस्य निर्वाचित भएका छन् । प्रदेशसभा निर्वाचनमा भाग लिएका दलमध्ये यस प्रदेशमा २८ राजनीतिक दलका १ सय ९ जना उम्मेदवारको धरौटी जफत भएको छ ।