सुदूरपश्चिम प्रदेश सभाको बैठक लगातार तेस्रो पटक स्थगित, सरकार र प्रतिपक्षी बीच कुरा मिलेन
2020/06/28, 3:29
 
sansad

आईतवार दिउँसो ३ बजेका लागि बोलाईएको सुदूरपश्चिम प्रदेश सभाको बैठक पनि स्थगित भएको छ । प्रदेश सभा सचिवालयले सूचना टाँस गर्दै बैठक स्थगित भएको जानकारी दिएको छ । मंगलबार दिउँसो ३ बजे सम्मका लागि बैठक स्थगित गरिएको प्रदेश सभाका सचिव राम धामीले सभामुखको आदेश अनुसार जानकारी दिए । 

बैठक स्थगित गर्नुको कारणबारे सूचनामा उल्लेख गरिएको छैन । तर सभामुख अर्जुनबहादुर थापाले भने प्रतिपक्षी र सरकारबीच कुरा नमिलेका कारण बैठक स्थगित गरिएको बताए । प्रतिपक्षी दलले यसअघि दुई दिन बैठक अवरुद्ध गरेका कारण फेरि कुरा नमिलेका अवरुद्ध गर्ने भएकोले सुचना टाँस गरेर वैठक स्थगित गरेको उनले बताए । 
असार १ गते प्रदेश सरकारले ल्याएको अगामी आर्थिक वर्ष २०७७÷७८ को बजेटमाथि छलफल गर्न १० असारमा बैठक बोलाईएको थियो । तर प्रतिपक्षी दलले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको भन्दै अवरोध सिर्जना गरेपछि सभामुखले बैठक स्थगित गरेका थिए ।

असार १२ गतेका लागि बोलाईएको बैठकमा समेत प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र राजपाले अवरोध जनाएपछि आईतवारका लागि बैठक बोलाईएको थियो । सरकारले भने प्रतिपक्षीको अवरोधलाई संसदीय अभ्यासका विरुद्ध भएको टिप्पणी गरिरहेको छ । आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहले प्रतिपक्षी दलले सभामा गरिरहेको अवरोधलाई गैरसंसदीय अभ्यासको रुपमा टिप्पणी गरेका छन ।

उनले कार्य व्यवस्था परामर्श समितिको बैठकमा पूर्व जानकारी दिएर संसदमा बोल्ने संसदीय अभ्यास भएपनि सभामुखले नै बैठक नराख्ने गरेको आरोप लगाए । तर सभामुख अर्जुनबहादुर थापाले भने यसअघि कार्य व्यवस्था परामर्श समितिको बैठक बसेर सरकार र प्रतिपक्षी दलसँगको छलफलकै आधारमा बजेटमाथिको छलफलको कार्यसूची तयार गरिएको दावी गरे ।