कैलालीमा गोली हानेर ३५ तोला सुन चोरेको घटना नसेलाउँदै फेरी चल्यो गोली
2022/12/20, 12:46
 
कैलालीमा गोली हानेर ३५ तोला सुन चोरेको घटना नसेलाउँदै फेरी चल्यो गोली

कैलाली - कैलालीमा हातहतियारसहित लुटपाट गर्ने गिरोहले दिन प्रतिदिन आपराधिक घटना घटाउन थालेका छन्।

आइतबार मात्रै कैलालीको गोदावरी नगरपालि स्थित अत्तरिया बजारको मुख्य चोक नजिकै अपरिचित व्यक्तिले गोली प्रहार गरी ३५ तोला सुन चोरी गरेका थिए। अत्तरिया बजारमा सुनचाँदी व्यवसाय गर्दै आएका विकास सुनार माथि मोटरसाइकलमा आएका दुई जनाले घर जाने क्रममा गोली प्रहार गरी ३५ तोला सुन र २ लाख रुपैयाँ नगद लुटपाट गरेका थिए। गोली प्रहार गरी लुटपाट गर्नेको पहिचान गर्न प्रहरी अहिलेसम्म असफल भएको देखिन्छ।

उक्त घटना सेलाउन नपाउँदै फेरी धनगढीमा पनि लुटपाटमा संलग्न व्यक्तिले गोली चलाएका छन्। सुदूरपश्चिम प्रदेशकै अस्थायी मुकाम रहेको धनगढी उपमहानगरपालिका–९ जुगेडा गाउँमा गोली चलेको हो। मङ्गलवार बिहान करिब ३ बजेतिर अपरिचित समूहले गोली चलाएको प्रहरीले जनाएको छ। तर स्थानीयलाई तर्साउनका लागि मात्रै गोली चलाइएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले नेपाल भारत सीमा क्षेत्रमा पर्ने उक्त जुगेडा गाउँमा गोली चलेको बताए।

गोली चल्नुअघि स्थानीय प्रजापति विष्टको घरमा लुटपाट भएको प्रहरीले जनाएको छ। सो क्रममा ३/४ जनाको समूहमा आएका व्यक्तिको आक्रमणबाट विष्ट सामान्य घाइते भएका छन्। विष्टले चोरी भइरहेको थाहा पाएपछि बाहिर निस्कँदा उनीमाथि हातपात भएको हो। स्थानीयले पनि उक्त घटना थापा पाएपछि उक्त समूहले स्थानीयलाई तर्साउन गोली चलाएको हुनसक्ने प्रहरीले जनाएको छ।

उनीहरूको पहिचान भने हुन सकेको छैन।