बैतडीको पाटनमा मृत फेला परेका शिक्षक धनबहादुर विष्टको शव ४ दिनदेखि आफन्तले बुझेका छैनन्। शिक्षक विष्टको शंकास्पद मृत्यु भएको भन्दै आफन्तहरूले घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेका छन्।
शिक्षक विष्टको मृत्यु नभइ हत्या भएको परिवारजनले आशंका गरेका छन्। मृतक विष्टको शरीरभरी निलडाम भएकाले उनको हत्या भएको मृतकका आफन्त दीप विष्टले बताए। उनले भने, ‘हामीले घटनाको सत्यतथ्य छानबिनको माग गरेका छौं। दोषी पत्ता लगाउनुपर्ने हाम्रो माग छ।’
मृतक शिक्षक विष्टको दाँत टुटेको र मुखमा समेत घाउ रहेकाले उनको हत्या गरेर शव फालिएको आफन्तको दाबी छ। ३० वर्षसम्म शिक्षण पेशामा संलग्न रहेको ठाउँमा शिक्षकको मृत्यु हुँदा समेत कसैले चासो नदिएको उनका भतिजा लोकेन्द्रले बताए। ‘घटनाको सत्यतथ्य छानबिन हुनुपर्छ। हाम्रो मान्छेको हत्या गरेर शव फालिएको हो। यसमा सुक्ष्म अनुसन्धान अगाडि बढाउन प्रहरीलाई आग्रह गरेका छौं’, उनले भने।
बैतडीको सुर्नया गाउँपालिका–२ ग्वानी घर भइ कृष्ण मावि पाटनमा कार्यरत शिक्षक विष्ट शनिबार दिउँसो मृत फेला परेका थिए। कृष्ण माविकै छात्रवास भवन पछाडि भिरालो ठाउँमा उनको शव फेला परेको थियो। शवको पोष्टमार्टम गरिएको भएपनि आफन्तले बुझ्न मानेका छैनन्।
घटनाका विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी वरिष्ठ नायव निरीक्षक गौरव सिंहले जानकारी दिए। उनले भने, ‘घटनाका विषयमा थप अनुसन्धान गरिरहेका छौं।’