बुकबहादुर राजी बालबच्चासहित त्रिपालमुनि बस्दै आएको तीन महिना पुगिसकेको छ । बाढीले उठीबास गराउँदा असोज पहिलो सातादेखि उनको परिवार जङ्गल किनारमा त्रिपाल टाङ्गेर बस्न थालेको हो । ‘अब चिसो बढ्दै गएपछि समस्या भइरहेको छ’, उनले भने,‘तर, घर बिग्रेकाले फर्कन सकेका छैनौं । बालबालिकाको स्वास्थ्यको चिन्ता भइरहेको छ ।’
बुकबहादुरको जस्तै, भजनी नगरपालिका–९ भुरुवाका बाढी प्रभावित १८ परिवार जङ्गल किनारमा त्रिपालमुनि बस्दै आएका छन् । अहिले चिसो बढ्दै गएपछि उनीहरुलाई समस्या हुन थालेको छ । जाडो लागेपछि बेला–बेला आगो तापेर रात बिताउने गरेको अर्का प्रभावित जग्गु राजीले बताए । उनले भने,‘एक महिनासम्म घामपानीले सतायो । अहिले चिसोले समस्या भइरहेको छ । तैपनि, व्यवस्था नभएकाले यहिँ बस्न बाध्य छौं ।’
असोज १ गतेको बाढीका कारण केही परिवार विस्थापित भएर जङ्गल किनारमा बसेका थिए । तर, ती परिवार फर्कन नपाउँदै सोही महिनाको तेस्रो साता पुनः बाढी आएर डुबान भएपछि विस्थापितको सङ्ख्या अझै थपियो । ज्यान जोगाउन सडक र जङ्गल क्षेत्रमा विस्थापित भएकामध्ये धेरैजसो मानिस घर फर्किसकेका छन् । तर, बाढीका कारण घरबारविहीन भएका परिवार भने त्रिपालमुनि बस्न बाध्य छन् ।
तिनीहरुमध्ये कसैको घर नै बाढीले बगाएर लग्यो भने, केहीको घर भत्किएको छ । घर नै बस्न नसक्ने भएकाले बाध्य भएर त्रिपालमा दिनरात बिताउँदै आएको प्रभावित विषा चौधरीले बताइन् । ‘घर नै भताभुङ भएको छ’, उनले भनिन्,‘सरकारी मान्छे मलाई घर पठाउन जोडबल गरेमा म त सक्छौ भने मेरो घरमा गएर तिमीहरु नै बस भन्नेवाला छु ।’
विस्थापितको पीडा राज्यले नदेखेको दुखेसो गर्दै विषाले भत्केको कान्द्रा नदी किनारको घरमा बस्न नसक्ने बताइन । ‘सरकारले सुरक्षित स्थानमा बसोबासको व्यवस्था गर्नु पर्दछ’, उनले भनिन।आफूहरु हरेक वर्ष डुबान समस्या भोग्दै आएकोमा अहिले विस्थापित नै हुनु परेको उनीहरु बताउँछन् । कान्द्रा नदी किनारमा तटबन्ध बनाएर पनि समस्या समाधान हुन नसक्ने भन्दै विस्थापितहरुले सुरक्षित आवासको व्यवस्था गर्न माग गरेका छन् ।
‘हामीलाई तटबन्ध हैन, सुरक्षित स्थानमा बसोबास चाहिएको छ’, अर्का विस्थापित पृथीपाल राजीले भने,‘सरकारले सुरक्षित स्थान देखाइ देओस । त्यहाँ घर बनाएर बस्छौं ।’ विस्थापितलाई तत्कालका लागि भन्दै नगरपालिका र रेडक्रसले त्रिपाल दिएको थियो । त्यो त्रिपालको भरमा अहिलेसम्म घाम चिसो छलिरहेका छन्, प्रभावितले । तर, पुरानो भएर त्रिपालपनि च्यातिन थालेको जनाएका छन् । च्यातिएको त्रिपालबाट राति शित चुहिने गरेको राधा राजीले बताइन । घर नहुँदा घामशित सहेर बसिरहेको उल्लेख गरिन ।
विस्थापितहरु धेरै दिनसम्म त्रिपालमुनि बस्दा कैयौंको स्वास्थ्यमा समस्या देखिएको छ । चिसोका कारण बालबालिका, बृद्धबृद्धा बेला बेलामा बिरामी पर्ने गरेका जनाएका छन् । उनीहरुले आफूहरुको उचित बसोबासको व्यवस्था गर्न सरकारसंग माग गरेका छन् ।चिसो बढ्दै गएपछि त्रिपालुमनि नबस्न आग्रह गरेको वडा सदस्यसमेत रहेका रामदेव राजीले बताए । ‘मैले उनीहरुलाई बरु बस्नै परे खरको झुप्रो बनाउनु भनेको छु’, उनले भने,‘त्रिपालले यो पुसको जाडो थेग्नै सक्दैन । माथिबाट सित चुहिन्छ ।’ बाढी प्रभावितहरुको जग्गा जमिन नदीले कटान गरिसकेकाले उनीहरु घर फर्कन नसकेको वडा सदस्य राजीले बताए । जाडो बढेपछि त्रिपालमुनि बालबालिका, ज्येष्ठ नागरिकहरुलाई चिसोले धेरै समस्या भएको बताइएको छ ।
भजनी नगरपालिका कैलालीमा सबैभन्दा बढी बाढी, डुबानको समस्या रहेको पालिका हो । सो नगरपालिकावासीले हरेक वर्ष डुबान समस्या भोग्दै आएका छन् । भजनीसहित सो क्षेत्रको बाढी, डुबान समस्याको दीर्घकालीन समाधानका लागि बाढी प्रभावित क्षेत्र घोषणा गर्न आवश्यक रहेको सांसद गंगाराम चौधरीको भनाइ छ । ‘त्यसका लागि म पहल गर्छु’, उनले भने,‘बाढी प्रभावित क्षेत्र घोषणा भएमा सोही अनुसार यहाँ रोकथाम र नियन्त्रणको कार्यक्रम सञ्चालन हुनेछ ।