जंगली हात्ती र छाडा पशु चौपायाको डरले आलुखेती
2022/12/25, 11:42
 
ss

 कैलालीको टीकापुर–८ श्रीलङ्कामा जङ्गली जनावर हात्ती र छाडा पशुचौपायाका डरले आलुखेती गरिएको छ । श्रीलङ्काका स्थानीय किसानले यहाँको माटो बलौटे रहेकाले आलुखेतीका लागि उत्तम रहेको र आलुखेतीलाई पशुबाट जोगाउन सहज हुने भएकाले यो खेती रोजेको बताएका छन् । किसानलाई आलुखेतीका लागि रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषितर्फले सघाएको छ । 

आयोजनाले त्यहाँका किसानलाई साढे २२ बिघा जमिनमा सामूहिकरूपमा आलुको ब्लक प्रदर्शनका लागि सघाएको छ । त्यसका साथै व्यक्तिगतरूपमा खेती गर्नेका लागिसमेत सहयोग गरेको छ । सिँचाइ आयोजना कृषि कार्यान्वयन एकाइको सहयोगपछि स्थानीय किसान मिलेर खेती गरेका हुन् ।

“श्रीलङ्कामा हात्तीको आतङ्क बढी हुने, छाडा पशुले बाली नोक्सान गर्ने र यहाँको माटो बलौटे भएकाले आलुखेतीको ब्लक स्थापाना गरी खेती गरिरहेका छौँ”, किसान धनसिंह साउदले भने, “यहाँ अधिकांशले उखुखेती गर्ने गरेका थिए । उखुखेतीलाई हात्तीले बढी नोक्सान गर्ने गरेका छ । त्यसैले यसपटक हामीले आलुखेती गरेका हौँ ।”

साउदले आलुखेती छिटो उत्पादन लिन सकिने र जनावरले कम नोक्सान गर्ने बताए । “हामीले आलुखेती बीउ उत्पादनका लागि गरेका छौँ, तरकारीका लागि व्यक्तिगतरूपमा पनि खेती गरेका छौँ”, उनले भने, “सिँचाइ आयोजनाले कृषकको समूहलाई आलुखेतीका लागि मेसिन, बीउ र प्रविधिलगायतमा सघाउन रु २० लाख सघाएको छ ।”

सिँचाइ आयोजना कृषितर्फको सहयोगमा टीकापुरमा ५० हेक्टरमा आलुखेती विस्तार र ४४ हेक्टरमा आलुको ब्लक खेती गरिएको छ । आयोजनाले यस वर्ष आलुखेती विस्तार र आलुको ब्लक स्थापनाका लागि किसानको मागका आधारमा सघाएको हो । आयोजनाले ४४ हेक्टरमा दुईवटा ब्लकमा ब्लक खेती गरेको छ ।

आयोजनाले टीकापुर–३ स्थित रामपुर कटानपुर र टीकापुर–८ श्रीलङ्कामा आलुको ब्लक स्थापनामा किसानलाई सघाएको आयोजनाले जानकारी दिएको छ । आयोजनाले आलुखेती विस्तारअन्तर्गत दुई सय ११ जना किसान छनोट गरी ५० हेक्टर क्षेत्रफलमा आलु विस्तारका लागि सघाएको बाली विकास अधिकृत जय महतराले बताए । “हामीले सूचना गरेका थियौँ, सूचनामा माग गरेका किसानले यो सुविधा पाएका हुन्”, उनले भने, “हामीले प्रविधि, सिँचाइ, मल, बीउ, विषादी र सुक्ष्म तत्वजस्ता सहयोग गर्छौँ । यसले किसानलाई कृषितर्फ आकर्षित गर्छ ।”

कृषितर्फ कार्यान्वयन एकाइले आलुखेतीलाई बढावा दिँदै यहाँ फलेको आलु शीतभण्डारमा भण्डारण गरेमा यहाँ आलुको आयात घटाउने लक्ष्य लिएको बाली विकास अधिकृत महतराले बताए । आयोजनाको सहयोगमा यहाँका दुई सय ११ किसानले व्यावसायिक खेती गरिरहेका छन् । आयोजनाले यसका साथै धान बाली, गहुँ बाली, तरकारी खेती तथा फलफूल खेतीमा समेत किसानलाई सघाउँदै आएको छ । आयोजनाले किसानलाई कृषि औजार वितरणकार्यसमेत हरेक वर्ष गर्दै आएको छ ।

आयोजनाको सहयोगमा यहाँका अधिकांश किसान व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन् । आयोजनाले खेतीमा लगानीसँगै किसानको खेती र उत्पादनको पनि नियमित अनुगमन गर्न आवश्यक रहेको किसान अगुवा रामफल चौधरीले बताए । “आयोजनाको सहयोगमा खेती गरिरहेका र आयोजनाबाट पटक–पटक लाभ लिएका किसानको खेतीको अवस्था नियमित अनुगमन गर्नुपर्छ”, उनले भने, “आयोजनाबाट सहयोग तथा अनुदान पाउनेमा सधैँभरि एउटै किसान छनोट कार्यसमेत अन्त्य गर्नुपर्छ । नयाँ किसानलाई कृषिमा आकर्षित गराउने खालका कार्यक्रम पनि ल्याउनुपर्छ ।” रासस