कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले सीमास्तम्भको अनुगमन गरेका छन्। प्रमुख जिल्ला अधिकारसहितको समूहले जिल्लाको भजनी, कालाकुण्डा र खक्रौलास्थित सीमास्तम्भको अनुगमन गरेको हो।
नेपाल–भारत सीमाअन्तर्गत कैलालीमा पर्ने ११ वटा सीमास्तम्भ मर्मत गर्नुपर्ने छ। जसमध्ये चार वटा सीमास्तम्भ मर्मतको काम नेपालको भागमा परेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार सात वटा सीमास्तम्भ भारतले मर्मत गर्नेछ। नेपालले मर्मत गर्नुपर्ने सीमास्तम्भको अवस्था के–कस्तो छ भन्ने बारे बुझ्नका लागि अनुगमन गरिएको उनले बताए
जिल्लाको खक्रोला भन्सारमा राजश्व चुहावट नियनत्रणको बैठक समेत भएको प्रमुख जिल्ला अधिकारी थापाले बताए। खक्रौला भन्सार कार्यालयका प्रमुख विमलकुमार शाह नै तस्करीमा लागेको आरोपपछि प्रमुख जिल्ला अधिकारी थापा खक्रौला पुगेका हुन्। तर शाख फरार रहेका प्रमुख जिल्ला अधिकारी थापाले बताए। उनीसँग फोन सम्पर्कसमेत भएको छैन।
प्रमुख जिल्ला अधिकारी थापाको समूहले हुलाकी राजमार्ग निर्माण गर्ने कार्यमा भएका अवरोधहरु सल्टाउनका लागि पनि छलफल गरेको छ। हुलाकी राजमार्ग आयोजनाको कार्यालयले अवरोध रहेको गुनासो गरेपछि सो समस्या समाधानका लागि अनुगमनसहित छलफल गरिएको हो।
जिल्लाको घोडाघोडी नगरपालिकाका मृतक जीतबहादुर डङ्गौराका परिवारलाई राहत स्वरुप दुई लाख रुपियाँ पनि वितरण गरेको छ। आगलागीबाट डङ्गौराको मृत्यु भए पनि उनका परिवार राहत पाउनबाट छुटेका थिए। छुटेको परिवारलाई राहत रकम दिइएको छ। मृतककी श्रीमती चरनदेवी डङ्गौरा थारुलाई राहत रकम हस्तान्तरण गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीले बताएको छ।