फोहोरबाट पैसा कमाउँदै टीकापुर अस्पताल
2023/01/01, 7:06
 
dd

कैलालीको टीकापुर अस्पतालले अस्पतालजन्य फोहोरबाट  पैसा  कमाउन थालेको छ । अस्पतालमा जम्मा हुने अस्पतालजन्य फोहोरहरू स्लाइन, सिरिञ्ज, औषधीका बट्टा, बोतल, कार्टुन आदि बिक्री गरेर अस्पतालले आम्दानी लिन थालेको हो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपटबहादुर सोडारीका अनुसार अस्पतालले संकलित फोहोरलाई कुहिने र नकुहिने गरी वर्गीकरण गर्छ । कुहिनेलाई फोहोरलाई सुरक्षित गाड्ने र नकुहिने फोहोरलाई पुनः वर्गीकरण गरी अटोक्लेभ मेसिनबाट निर्मलीकरण गरेर बिक्री गर्ने गर्छ ।

‘दुई महिनादेखि हामीले अटोक्लेभ मेसिन जडान गरेर फोहोरको वर्गीकरण गर्ने, निर्मलीकरण गरेर जम्मा गरेका छौं’ अध्यक्ष सोडारीले भने ‘दुई महिनामा १३ क्वीन्टल फोहोर संकलन गरेर बिक्री गरेका छौं, जसबाट अस्पताललाई २८ हजार रुपैयाँ आम्दानी भएको छ ।’ फोहोर निर्मलीकरण गर्नका लागि गैरसरकारी संस्था कोइकाले झण्डै आठ वर्षअघि एउटा १ शय ५२ लिटर क्षमताको अटोक्लेभ मेसिन अस्पताललाई दिएको थियो । विश्व स्वास्थ्य संगठनबाट थप अर्को २ शय लिटर क्षमताको अटोक्लेभ मेसिन ल्याएर फोहोरबाट मोहर बनाउन थालिएको अध्यक्ष सोडारीले बताए ।

‘आम्दानी धेरै नहोला तर अस्पतालमा जम्मा हुने फोहोर व्यवस्थापन र वातावरणीय दृष्टिकोणले फोहोरको पुनः प्रयोग हुनु महत्वपूर्ण विषय हो’ अध्यक्ष सोडारीले भने ‘हामी अन्य अस्पताल र नगरपालिका क्षेत्रमा संकलित फोहोरबाट मोहर बनाउने योजनामा छौं ।’ अस्पतालले संकलित फोहोर बिक्रीका लागि जोशीपुरस्थित जय सियाराम होजियारीसँग सम्झौता गरेको छ । सम्झौताअनुसार होजियारीले प्लास्टिक १५, कागज २०, ग्लोब १० र सिरिञ्ज १५ रुपैयाँ प्रतिकिलोका दरले खरिद गर्ने गरेको छ ।