सुदूरपश्चिममा सहज सर्पदंशको उपचार नहुँदा बिरामीहरु ज्यान गुमाउन वाध्य भएका छन । सर्पदंशका विरामीहरुको उपचार भेन्टिलेटरमा राखेर गर्नुपर्ने भएपनि भेन्टिलेटरको अभावमा विरामीहरु ज्यान गुमाउन बाध्य भएका हुन् । कोरोना भाइरसको महामारीका बीच सर्पदंशका विरामी बढ्दै गएपनि अस्पतालहरुमा स्तरीय उपचार सेवा र उपकरण नहुँदा उनीहरुले मृत्युसँग संघर्ष गरिरहेका छन् भने कतिपय उपचार नपाएरै ज्यान गुमाउन बाध्य छन् ।
भारतबाट फर्किएर क्वारेन्टिनमा बसिरहेका कैलालीको गौरीगंगाका नगरपालिका वडा नम्बर ४ का एक युवकलाई शुक्रबार राती क्वारेन्टिनमै सर्पले टोक्यो । मध्य राती सर्पले टोकेको थाहा नपाएका उनले शनिबार बिहान एक्कासी वान्ता गर्न थालेपछि हातको कुईनामा सर्पले टोकेको पत्ता लाग्यो । तत्कालै सेती प्रादेशिक ल्याईएका उनलाई अस्पतालले समान्य उपचारपछि भेन्टिलेटर नभएको भन्दै अन्यत्र लैजान सुझाव दियो । शनिबार राती ९ बजे उनलाई उपचारका लागि कोहलपुर पुगाईए पनि त्यहाँ समेत भेन्टिलेटर नपाउँदा जरनल वार्डमै राखेर उपचार गरिएको थियो । आईतबार दिउँसो मात्र भेन्टिलेटर पाएका उनको अहिले भेरी अस्पतालमा उपचार भइरहेको छ ।
नेपालगंज मेडिकल कलेजबाट पनि भेरी अस्पताल पठायो । अहिले त्यहाँ उनको उपचार हुँदैछ । सेती प्रादेशिक अस्पतालमा ६ वटा मात्र भेन्टिलेटर छन । तर शनिबार भेन्टिलेटर खाली नभएको भन्दै ती पुरुषलाई अन्यत्र रेफर गरिएको थियो । यो तएउटा उदाहरण मात्रै हो प्रदेशका विभिन्न स्थानमा सर्पले टोकेका विरामीहरु भेन्टिलेटर नपाएर ज्यान गुमाउन वाध्य भएका छन् । प्रदेशका सीमित अस्पतालमा मात्र सर्पदंशका बिरामीको उपचार सेवा भएका बेला भेन्टिलेटर र आईसियु सेवा नपाएर मृत्युसँग संघर्ष गर्न बाध्य हुनु परेको हो । स्तरीय उपचार सेवाकै अभावमा सुदूरपश्चिममा वर्षेनी सर्पदंशका बिरामीले अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता रहेका बेला कोरोना महामारीमा उनीहरु झनै प्रभावित भएका छन ।
कोरोना भाइरसका गम्भीर बिरामीका लागि समेत भेन्टिलेटर अनिवार्य भएपनि भेन्टिलेटर थपेर विस्तारको काममा कसैको पनि ध्यान पुग्न सकेको छैन् । २० वटा भेन्टिलेटर खरिद गर्ने निर्णय प्रदेश सरकारले गरेको थियो । तर अहिलेसम्म ठेक्का सम्झौताको प्रक्रिया समेत पूरा गर्न सकेको छैन्,। पहिलो प्राथामिकता पीसीआर मेसिन खरिदको रहेकोमा त्यो पुरा भएको र अव भेन्टिलेटरको काम अगाडी वढ्ने प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका सूचना अधिकारी लक्ष्मी श्रेष्ठले जानकारी दिए । उनका अनुसार भेन्टिलेटर आपूर्तिका लागि सात आपूर्तिकर्ताले निवेदन दिएका छन् । दुई बाहिरिएका छन ्। पाँच बाँकी छन् । उनीहरुको मुल्याँकन बाँकी छ । अबको केही दिनमा काम सकिने श्रेष्ठको भनाई छ ।
आपूर्तिकर्तासंग ६० दिनमा भेन्टिलेटर आपूर्तिका लागि सम्झौताको तयारीमा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र रहेको छ । तर प्रदेशमा कोरोना भाइरसको महामारीमै सर्पदंशका विरामी समेत बढ्दै गएका बेला अस्पतालहरुमा पर्याप्त तयारीको समेत अभाव देखिएको छ । सरकारी अस्पतालमा मात्र सर्पदंशका विरामीको उपचारको व्यवस्था भएपनि भेन्टिलेटर र आईसियु सुविधा नहुँदा अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता छ भने भएका अस्पतालमा बिरामीको चापले समस्या भईरहेको जानकारहरुको भनाई छ ।