नेपाल टी–२० लिग : फारवेस्टले काठमाडौंलाई हरायो
2023/01/05, 4:54
 
farwest cricket

नेपाल टी–२० लिगमा फारवेस्ट युनाईटेडले काठमाडौं नाइट्सलाई पराजित गरेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार फारवेस्टले काठमाडौंलाई ८३ रनको फराकिलो अन्तरले हराएको हो ।

८ खेलमा २ जित मात्रै निकालेको फारवेस्टको प्लेअफ सम्भावना भने कायमै छ । १९८ रनको विशाल लक्ष्य पछ्याएको काठमाडौंले पुरै ओभर खेलेर ९ विकेट गुमाउँदै ११४ रनमात्रै बनाउन सक्यो । कमलसिंह ऐरीले २० र कप्तान ज्ञानेन्द्र मल्लले १७ रन जोड्नुवाहेक अन्यको प्रदर्शन उल्लेख्य रहेन ।फारवेस्टको लागि करन केसी, दुर्गेश गुप्ता र हश्मतुल्लाह शहिदीले २–२ विकेट लिए ।

त्यसअघि ब्याटिङ गरेको फारवेस्टले पुरै ओभर खेलेर ४ विकेट क्षतिमा १९७ रन बनाएको थियो । फारवेस्टका लागि हश्मतुल्लाह शहिदी र विनोद भण्डारीले पहिलो विकेटको लागि १५७ रनको साझेदारी गरेका थिए।

हश्मतुल्लाहले ५७ बलमा ५ चौका र ४ छक्कासहित ७६ रन बनाए । यस्तै विनोदले ४४ बलमा ४ छक्का र ५ छक्का हानेर ७३ रन बनाए। करन केसीले अविजित रहँदै ८ बलमा २२ रन जोडे।