दार्चुला। दार्चुलाको आधाभन्दा बढी भूभाग समेटेर स्थापना गरिएको अपिनाम्पा संरक्षण क्षेत्रको सोचेअनुरूप संरक्षण र व्यवस्थापन हुन सकिरहेको छैन । स्थानीयवासीले संरक्षण गरेर स्थानीयकै आयआर्जन बढाउने उद्देश्यले स्थापित संरक्षण क्षेत्र उक्त उद्देश्यबाट विमुखजस्तै भएको छ।
स्थानीयबाटै विभिन्न समयमा हुने वन्यजन्तुको सिकार, वन फडानी र अव्यवस्थित चरिचरनका लागि संरक्षण क्षेत्र बचाउन चुनौती थपिएको सरोकारवालाहरू गुनासो गर्छन्। २०६७ को मध्यतिर स्थापना भएको यो संरक्षण क्षेत्र २ हजार ८ सय ५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । वन्यजन्तु, जडिबुटी र वन सम्पदा जोगाउनेसँगै स्थानीयको जीविकोपार्जनमा समेत सुधार ल्याउने उद्देश्यले स्थापना गरिएको थियो। स्थानीयमा अपनत्व नहुँदा संरक्षणमा चुनौती थपिएको अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयका निमित्त प्रमुख संरक्षण अधिकृत नुरेन्द्र अर्यालले बताए । उनका अनुसार स्थानीयस्तरमा संरक्षण समिति छैनन्।
कर्मचारीले फराकिलो क्षेत्र रहेको संरक्षण क्षेत्र पूरा हेर्न भ्याउँदैनन् । ‘स्थानीयमा वन्यजन्तु र वनस्पतिको संरक्षणमा चासो छैन । एक्लै कर्मचारीले मात्र उक्त अभिभारा पूरा गर्न सक्ने अवस्था छैन,’ उनले भने, ‘संरक्षण क्षेत्रको व्यवस्थापन परिषद् लामो समयदेखि पूर्ण छैन । यसकै कारण स्थानीयस्तरमा समिति गठन गर्न पनि सकिएको छैन ।’व्यास, दुहु र नौगाड गाउँपालिकाको सीमा क्षेत्रमा रहेको धार्मिकस्थल सिद्ध टोपी क्षेत्रको पूर्व र पश्चिमतर्फको वन संरक्षणमा कसैको ध्यान पुगेको देखिँदैन । तीनवटै गाउँपालिकाका स्थानीयले त्यहाँको चरन र वन सम्पदा उपयोग गर्दै आए पनि संरक्षणमा कसैले चासो नदेखाएको स्थानीय शंकरसिह खातीले बताए ।
‘यो वन क्षेत्रलाई सबैले उपभोग गर्दै आएका छन्,’ उनले भने, ‘काठदाउरा काटे पनि वृक्षरोपण कसैले गरेको देखिँदैन ।’ एउटा रूख काटेपछि १० वटा बिरुवा रोप्नुपर्ने भनिए पनि यसतर्फ कसैले ध्यान नगएको उनको भनाइ छ । स्थानीयको जीविकोपार्जन र पशुपालनका लागि आधार मानिएका वन क्षेत्रको संरक्षण नहुँदा थाइसैन, ब्रह्मलेकलगायत क्षेत्रमा रागो सल्ला, पाङर, लुइँटलगायत रूखहरू लोप हुने अवस्थामा पुगेका छन् । मार्मा, अपि हिमाल, नौगाडको सीमा क्षेत्रमा पनि विभिन्न प्रजातिका बिरुवा देखिनै छाडेको खातीले बताए ।सुन्सेरा, हिकिला, धारी, हुती, धौलाकोटलगायत ठाउँका स्थानीयले घरपालुवा जनावर वर्षको एक सिजन चरनका लागि संरक्षण क्षेत्रका वनहरूमा छोड्ने हुँदा नयाँ बिरुवा हुर्कनै पाउँदैन । गाईबस्तु, खच्चर, भेडाबाख्रालाई वैशाखमा वनमा छोडेर असोजमा खोजेर ल्याउने प्रचलनले यो क्षेत्रमा वन संरक्षणमा चुनौती थपिएको हो ।
‘अहिले संरक्षण क्षेत्रका वनभित्र वर्षौं पुराना र सुकेका रूखहरू मात्रै छन् । नयाँ बुट्यान र रूखहरू कमै भेटिन्छन्,’ स्थानीय जमनसिंह विष्टले भने, ‘साना बोटबिरुवा संरक्षण गर्ने निगालो र अन्य बुट्यानसमेत नष्ट हुँदै छन् ।’ वन क्षेत्र जोगाउन स्थानीय र सरोकारवालाहरूले तत्काल काम सुरु गर्न नसके अबको २० वर्षमा यहाँको वन क्षेत्र उजाड हुन सक्ने उनको दाबी छ । रूख काट्ने तर वृक्षरोपण नगर्दा वन क्षेत्र पातलिँदै गएका छन् । त्यसमा स्थानीय उपभोक्ता समितिहरूले ध्यान दिएका छैनन् । रूखबिरुवा कटान र अव्यवस्थित चरिचरनलाई रोक्न कसैले पहल गरेको छैन । संरक्षण क्षेत्र स्थापना भएसँगै स्थानीयले घर निर्माणलगायतका लागि रुख कटान अझै रोकिएको छैन । जसका कारण बस्ती नजिकका क्षेत्रमा अब निकै पुराना तर सुकेका रूख मात्रै बाँकी छन् । रूख खाटे पनि नयाँ बिरुवा रोप्ने प्रवृत्ति विकास हुन नसक्दा यहाँको पानीको स्रोत, चरा र वन्यजन्तुको संख्या र पर्यावरणमै समस्या देखिन थालेको विष्टको भनाइ छ ।कान्तीपुरबाट