फैलँदै सलहः सुदूरपश्चिममा एक किलो सलह समाते २५ रुपैयाँ दिईने, स्थानीय तह पूर्वतयारीमा
2020/06/28, 8:55
 
salah

सलह किरा नेपालका विभिन्न जिल्लामा फैलिन थालेको छ । सलहले बाली नष्ट गर्न सक्ने भएकाले मकै बाली तत्काल थन्क्याउन, चैते धान काट्न, रोपाइँ भइरहेको ठाउँमा काम रोकेर नर्सरी जोगाउन र तरकारीका बेर्ना जोगाउन किसानलाई आग्रह गरिएको र आवश्यक सहयोग गर्न निर्देशन पनि दिएको सरकारी अधिकारीहरुले बताएका छन् । विज्ञहरुले नेपाल आइपुगेको सलह किरा एक महिनासम्म रहन सक्ने अनुमान गरेका छन् । वयस्क र बच्चाको समूहमा नेपाल प्रवेश गरेको सहल किरा नेपालमा बढीमा एक महिनासम्म रहन सक्ने प्रक्षेपण विज्ञहरुले गरेका हुन् । वयस्क सलह बढीमा दुई हप्ता र बच्चा सलह एक महिनासम्म बाँच्न सक्ने कृषि विभागका पूर्व महानिर्देशक डाक्टर डिल्लीराम शर्माले बताए । 

यसैबीच सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गतको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले एक किलो सलह किरा ल्याए २५ रुपैयाँ दिने निर्णय गरेको छ । धान दिवसको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयले नगद प्रोत्साहन दिने निर्णय भएको जानकारी दिएको हो ।  सलह किराले पु¥याउन सक्ने क्षति कम गर्न विभिन्न उपायमध्ये किरा सङ्कलन गरेर वडा कार्यालयमा बुझाउनेलाई एक किलोको २५ रुपैयाँका दरले नगद प्रोत्साहन दिने व्यवस्था गरिएको मन्त्रालयका प्रवक्ता खगेन्द्रप्रसाद शर्माले बताए । 

यसैबीच कृषि विज्ञले पश्चिम नेपालमा सलह किरा आउनसक्ने पूर्वअनुमान गरिएपछि धनगढी उप–महानगरपालिका यसको रोकथाम व्यवस्थापनको पूर्वतयारीमा जुटेको छ । उप–महानगरपालिकाले १९ वटै वडाका वडाध्यक्ष, कृषि शाखाका कर्मचारीको सहभागितामा सलहले पु¥याउने क्षति रोक्ने विषयमा छलफल गरिएको छ ।  नगर प्रमुख नृपबहादुर ओडले सलह किराले पु¥याउने सम्भाव्य जोखिम र त्यसको व्यवस्थापनका बारेमा छलफल गरिएको बताए ।

उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्र भट्टले यसको क्षति घटाउनका लागि अपनाईने उपायका बारेमा जिङ्गल बनाएर वा माईकिङ गरेर किसानसम्म सूचना पु¥याउने र वडा तहबाट पनि सूचना प्रवाह गर्ने योजना बनेको बताए । उपमहानगरपालिका कृषि शाखा प्रमुख लोकराज उपाध्यायले सलह किराको प्रकोप रोक्न विषादी प्रयोगका अलावा किराले प्रजनन् गर्न सक्ने ठाउँ नष्ट पार्ने, खेतबारीमा लसुन पानी छर्किने, झुलजालको प्रयोग गर्न सकिने लगायतका नियन्त्रणका विधि पनि अपनाउन सकिने बताए ।