बैतडीमा संस्थागत सुत्केरी हुनेको संख्या ५० प्रतिशत मात्रै
2023/01/18, 1:03
 
ss

बैतडीमा संस्थागत सुत्केरी हुनेको संख्या ५० प्रतिशत मात्रै रहेको पाइएको छ । गर्भवती महिलामध्ये आधाले घरमै बच्चा जन्माउने गरेको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।जिल्लामा १३० जति सुरक्षित महिला प्रसुती सेवा केन्द्र सञ्चालनमा रहेका भएपनि आमाहरुले घरमै बच्चा जन्माउने गरेका छन् ।

घरमै बच्चा जन्माएका कारण नवजात शिशुको मृत्युदर समेत बढ्दै गएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । पछिल्लो तीन बर्षमा बैतडीमा १३० जना नवजात शिशुको मृत्यु भएको तथ्यांक रहेको छ । संस्थागत सुत्केरी हुनेको संख्या कम भएका कारण पनि नवजात शिशुको मृत्यु बढी हुने गरेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए ।

उनले भने ‘स्वास्थ्य संस्थामा बच्चा नजन्माएका कारण नवशिशुहरुको मृत्यु हुने गरेको छ । विभिन्न खालका जटीलता आउने र घरमा ती जटीलता व्यवस्थापन गर्न नसकिने हुँदा नवजात शिशुको मृत्यु हुने गरेको छ ।’ स्वास्थ्य संस्थामा गएर बच्चा जन्माउने आमाको तथ्यांक हेर्दा समग्रमा पछिल्ला तीन बर्षमा केही सुधार भएपनि केही पालिकाको अवस्था भने नाजुक रहेको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपीन लेखकले बताए । 

आर्थिक बर्ष २०७६/७७ मा संस्थागत सुत्केरीको संख्या ३७ प्रतिशत रहेकोमा आर्थिक बर्ष २०७७/७८ मा त्यो संख्या बढेर ४६ प्रतिशत पुगेको थियो । अघिल्लो आर्थिक बर्ष २०७८/७९ मा संस्थागत सुत्केरी हुनेको संख्या ५० प्रतिशत पुगेको छ । अहिले पनि गर्भवती आमा मध्ये आधाले घरमै बच्चा जन्माउने गरेको तथ्यांकले देखाएको छ ।

जिल्लाको डिलाशैनी गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका र सिगास गाउँपालिकामा संस्थागत सुत्केरी हुनेको संख्या घट्दै गएको छ । यस्तै सुर्नया गाउँपालिका, दोगडाकेदार गाउँपालिकामा पनि संस्थागत सुत्केरी हुनेको संख्या ५० प्रतिशत भन्दा कम रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लाको दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, पुर्चौंडी नगरपालिका र मेलौली नगरपालिकामा भने संस्थागत सुत्केरी हुनेको संख्या बढेको पाइएको छ । ती पालिकाहरुमा पहिलाका तुलनामा संस्थागत सुत्केरीको संख्या बढ्दै गएको स्वास्थ्य कार्यालयले जनाएको छ । संस्थागत सुत्केरीको संख्या बढाउनका लागि विभिन्न ठाउँमा बर्थिङ सेन्टर खुलेका भएपनि संस्थागत सुत्केरीको संख्या बढ्न सकेको छैन् ।

बर्थिङ सेन्टरहरुमा दक्ष प्रसुतीकर्मीको अभावका कारण पनि यो संख्या घट्दै गएको अनुमान गरिएको छ । स्वास्थ्य संस्थामा सुत्केरी हुने आमालाई सरकारले प्रोत्साहन भत्ता समेत दिँदै आएको छ । तर पनि संस्थागत सुत्केरी हुनेको संख्या बढ्न सकेको छैन् ।