छ जनाको ज्यान जाने गरी डोटीको केन्द्रबिन्दु बनाएर भूकम्प गएको तीन महिना बित्न नपाउँदै पूरै सुदूरपश्चिम हल्लाउने गरी फेरि अर्को भूकम्प गएको छ । मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको हिमाली गाउँपालिका र हुम्लाको ताजाकोट गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने मैला केन्द्रबिन्दु बनाएर ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का नेपालको पूर्वसम्मसहित भारतको दिल्लीसम्म महसुस गरिएको थियो । गत कात्तिक २३ गते ६.६ रेक्टर स्केलको भूकम्प जाँदा डोटीको पूर्वीचौकी गाउँपालिकाका छ जनाको ज्यान गएको थियो ।
मंगलबारको भूकम्पले पनि बाजुरामा एक महिलाको ज्यान लिएको छ । जिल्लाको गौमुल गाउँपालिका–२ को जुरेलीको स्थानीय जंगलमा घाँस काट्ने बेला गएको भुकम्पसँगै माथिबाट खसेको ढुंगाले लागेर महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक९डीएसपी० सुर्य थापाले भुकम्पका कारण खसेको ढुंगा लागेर जमुना रोकायाको मृत्यु भएको बताए । भूकम्पमा परेर दुई जना घाइते भएका छन् । जंगलमा भेडा चराइरहेका बेला भूकम्प जाँदा खसेको पहिरोमा परेर गौमुल गाउँपालिका–१, का रामदल बोहरा घाइते भएका प्रहरीले जनाएको छ । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको डिएसपी थापाले जानकारी दिए । उक्त पहिरोमा ३५ वटा भेडा पुरिएर मरेको बुझिएको प्रहरीले जनाएको छ ।
त्यस्तै हिमाली गाउँपालिका–६, मा भूकम्प गएका बेला भाग्ने क्रममा आत्तिएर एक महिला बेहोस् भएकी छन् । हुम्लाको ताजाकोट घर भइ दिदीको घर आएकी सरिता नेपाली बेहोस् भएकी हुन्। उनको होस् खुलेको र गाउँको स्वास्थ्य संस्थामा उपचार भइरहेको डिएसपी थापाले बताए । भूकम्पले बाजुरा र बझाङमा बढी क्षति भएको छ । बाजुरामा ३४ वटा घरमा क्षति पुगेको विवरण प्राप्त भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यमध्ये पाँच वटा घर पूर्णरुपमा भत्किएका छन् । त्यस्तै, २१ घर चर्केर आंशिक क्षति पुगेको र आठ वटा घरमा सामान्य क्षति पुगेको डीएसपी थापाले जानकारी दिए । बडीमालिका, बुढीनन्दा, हिमाली, गौमुललगायत पालिकामा घरमा बढी क्षति भएको देखिएको उनले बताए ।
त्यस्तै बझाङमा भूकम्पमा परी एक जना घाइते भएका छन् भने ३२ वटा घरमा क्षति पुगेको प्रहरी विवरण छ । भूकम्प गएपछि आत्तिएर घरबाहिर निस्कन खोज्दा जयपृथ्वी नगरपालिका–११, का हरिकृष्ण जोशीको बाँया हात भाँचिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लाभरि ३२ वटा घरमा भूकम्पले क्षति पु¥याएको विवरण संकलन गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रमेश अवस्थीले जानकारी दिए ।
बडिमालिका नगरपालिका वडा नं ७ हरिचन्द्र उपाध्याय धनबहादुर विक ९ को हर्क गुरु र विरजिते चँदारा गरी चार जनाको घर पूर्ण रूपमा भत्किएको छ । उनले बाजुराका अधिकांश नयाँ तथा पुराना घर छाना र बूढीनन्दा नगरपालिकाको भवन समेत चर्किएको जानकारी दिए । बाजुराका विभिन्न ठाउँमा भूकम्पले भौतिकरुपमा ठूलो क्षति गरेको र ४० भन्दा बढी भेडा बाख्रा पनि मरेको स्थानीयवासी बताएका छन् । बाजुराका अधिकांश ठाउँमा भौतिक संरचनामा ठूलो क्षति भएको भन्ने कुरा आए पनि यकिन तथ्याङ्क आइसकेको छैन ।
त्यसका लागि विभिन्न ठाउँमा प्रहरी टोली परिचालन गरिए पनि यकिन तथ्याङ्क प्राप्त भइनसकेको जानकारी जिल्ला प्रशासन कार्यालय बाजुरा बाजुराका पुष्कर खड्काले बताए ।भूकम्पले बझाङ जिल्ला सदरमुकाम चैनपुरस्थित कृषि ज्ञान केन्द्रको पुरानो भवन, जिल्ला अस्पताल सिमखेतको पुरानो भवन, दौलिचौर प्रहरी चौकीको भवनमा पूर्ण क्षतिपुगेको छ । भूकम्पले जयपृथ्वी नगरपालिका–४ गङखेतमा रहेको भवानी सामुदायिक विद्यालयको घर भत्काएको छ ।
भुकम्पले बडिमालिका नगरपालिका र हिमाली गाउँपालिकामा गरेर अहिलेसम्म ६ वटा घर भत्काएको प्रारभ्मीक विवरण प्राप्त भएको छ भने विस्तृत विवरण संकलको काम जारी छ । बझाङको चैनपुरमा कृषि ज्ञान केन्द्रको भवन भूकम्पले भत्काएको छ । उक्त भवन हाल सशस्त्र प्रहरीले प्रयोग गर्दै आएको थियो । त्यस्तै, चैनपुरस्थित एक होटलको छतमा बनाइएको मन्दिर भूकम्पले भत्केको छ । बाजुरा केन्द्र बिन्दु भएर गएको भूकम्पको धक्का, बैतडी, बझाङ, आछाम, डडेल्धुरा र धनगढीलगायतका जिल्लामा महसुस गरिएको छ । अन्य जिल्लामा कुनै धनजनको क्षति नभएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । भूकम्पको धक्का महसुस भएपछि मान्छेहरु घर बाहिर निस्किएका थिए ।
गत कात्तिकमा डोटीमा ६।६ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पले घर भत्काउँदा छ जनाको ज्यान गएको थियो । सो भूकम्पले बझाङ, बाजुरामा पनि विभिन्न ठाउँमा स्थानीयको घर भत्काएको थियो । अघिल्लो भूकम्पले संरचना भत्काएपछि डोटीका कैयौं भूकम्प पीडित अझै त्रिपालमुनि बस्दै आएका छन् ।
अघिल्लो भूकम्पका कारण तर्सिएका स्थानीयलाई मंगलबारको भूकम्पले थप त्रसित बनाएको छ । भूकम्प गएपछि धनगढीमासमेत स्थानीय घरबाहिर निस्केका थिए । पानी परिरहेकाले सुतेका बेला एक्कासी खाट हल्लिएपछि हत्तपत्त उठेर घर बाहिर निस्केको धनगढीका गाउँका हरिश विकले बताए । ‘के भयो भनेर त्रसित भएका थियौं’, उनले भने । ‘घरै हल्लिन थालेपछि भूकम्प आएको चाल पाएर घर बाहिर निस्केका थियौं ।’
पश्चिम नेपालमा भूकम्पको जोखिम कति ?
गत कात्तिक महिनामा डोटी जिल्लामा लोकल म्याग्निट्यूड ६.६ को भूकम्प गएको थियो । उक्त भूकम्पका कारण धनजनको पनि क्षति भएको थियो । ‘डोटीको भूकम्पपछि परकम्पहरू पनि गए। अहिले बाजुराको भूकम्प परकम्प नभई छुट्टै भूकम्प हो,‘राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकी प्रमुख मोनिका झाले भनिन् । ‘यसले उक्त क्षेत्रमा भूकम्पीय गतिविधि बढेको सङ्केत गर्छ ।’
पश्चिम नेपालमा ५०० वर्षभन्दा बढी समयदेखि महाभूकम्प नगएकाले त्यहाँको भूगर्भमा धेरै ऊर्जा सञ्चित भएर बसेको भूगर्भविद्हरू बताउँछन् । तर डोटी र बाजुरामा गएका भूकम्पहरू सञ्चित ऊर्जा निष्कासनका लागि पर्याप्त नभएको उनीहरूको भनाइ छ । कात्तिक २३ गते डोटी केन्द्रबिन्दु भएर ६.६ म्याग्निट्यूडको भूकम्प जाँदा छ जनाको मृत्यु भएको थियो ।
झाका अनुसार पोखरादेखि पश्चिम भारतको देहरादुनसम्म निकै लामो समय ठूला भूकम्पीय गतिविधि नभएकाले सो क्षेत्रमा भूकम्प जाने ठूलो जोखिम भएको क्षेत्र हो । ‘अहिले भूकम्पीय गतिविधि दोहोरिँदा हामी विशेष रूपमा सजग हुनुपर्छ’, उनले भनिन । विसं २०७२ सालमा गोरखा जिल्लामा केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पका दरारहरू पोखराभन्दा पश्चिमतर्फ देखिएका थिएनन् । गोरखा भूकम्पबारे विद्यावारिधि गरेका भूकम्पविद् लोकविजय अधिकारीका अनुसार पश्चिम नेपालमा म्याग्निट्यूड ८ वा त्योभन्दा ठूलो महाभूकम्प जान सक्ने जोखिम छ ।
नेपालमा किन गइरहन्छ भूकम्प ?
नेपालमा प्रत्येक दिन १०–१२ वटा भूकम्प गइरहन्छन् । तर तीमध्ये निकै कम मात्र हामीले महसुस गर्छौँ । हामीले महसुस गरेका वा लोकल म्याग्निट्यूड ४ भन्दा माथिका भूकम्पको विवरण भूकम्प मापन केन्द्रले सार्वजनिक गर्छ । भारत र तिब्बतका बीचमा पर्ने नेपाल उच्च भूकम्पीय जोखिम भएको क्षेत्रमा पर्छ । भारतीय उपमहाद्वीपको भूगर्भमा रहेको चट्टानहरूको तह उत्तरतिर गइरहेको छ र युरेशिएन प्लेटमा जोतिइरहेको छ । भूगर्भशास्त्रीहरूले यसलाई ‘भारतीय उपमहाद्वीपलाई बिस्तारै युरेशिएन महाद्वीपले निलिरहेको’, पनि भन्ने गरेका छन् ।
पूरै हिमालय भएको क्षेत्र ती दुई प्लेटहरू ठोक्किने स्थान हो । त्यसैले हिमालयछेउछाउ भूकम्पको सम्भावना सधैँ हुन्छ । नेपालमा आठ सय वर्षमा ५० वटा ठूला भूकम्प, राजाको पनि ज्यान गएको थियो । केही वर्षअघि गएको गोरखा भूकम्प ७।८ म्याग्निट्यूडको थियो । भूकम्प र त्यसपछिका परकम्पहरूले देशभरिका विभिन्न जिल्लामा भौतिक मात्र नभई ठूलो मानवीय क्षति पनि गरे । उक्त भूकम्पको शृङ्खलाका कारण परकम्पका रूपमा भूगर्भमा सञ्चित शक्ति बाहिर निस्किन खोजिरहेको भए पनि काठमाण्डौंको जमिनमुनि आएर जम्मा भएकाले जोखिम अझै नटरेको विज्ञहरू बताउँछन् ।