काम छोडेर निर्माण कम्पनी सम्पर्कविहीन
2023/01/28, 3:24
 
ss

डोटीको शिखर नगरपालिका–१०, बानेडुग्रीसैनस्थित सेती नदीमा निर्माणाधीन पक्की पुलको काम अलपत्र छाडेर ठेकेदार कम्पनी सम्पर्कविहीन भएको छ । सो पुलको काम आठ वर्षमा २२ प्रतिशत मात्र सम्पन्न भएको छ ।  पप्पु राजेन्द्र जोइन्ट भेन्चर ९जेभी०ले तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का पाएको थियो ।

मूल्य अभिवृद्धि कर भ्याट सहित २६ करोड २० लाख ८८ हजारमा ठेक्का लागेको हो । वि.स. २०४९ मा निर्माण सुरु भएको सातनाली मेल्लेक सडकलाई केआईसिंह राजमार्गसँग जोड्न पुल निर्माणको कार्य अघि बढाइएको थियो । स्थानीयले पुल निर्माणको काम ढिला गर्ने निर्माण कम्पनीलाई कारबाही गर्न माग गरेका छन् । काम अपुरो छाडेर फरार हुने ठेकेदार कम्पनीमाथि कारबाही गरी अन्य कम्पनीबाट निर्माण कार्य अघि बढाउनसमेत स्थानीयले माग गरेका छन् । 

स्थानीय गणेश बलायरका अनुसार सडक डिभिजनदेखि स्थानीय सरकारसमक्ष ठेकेदार कम्पनीमाथि कारबाही गर्न दबाब दिइँदैआएको छ । शिखर नगरपालिका–११ र आदर्श गाउँपालिका–५ जोड्ने पुल निर्माण नहुँदा सडक पहुँचमा पुग्न स्थानीयले घण्टौँ पैदल यात्रा गर्नुपर्ने अवस्था छ। शिखर नगरपालिकाका प्रवक्ता धिर्कबहादुर सिंहका अनुसार सेती नदीको पुल निर्माणको काममा ढिलाइ भएका कारण पालिकाका विकास निर्माण कार्यसमेत प्रभावित बनेको छ । सडकसँगै अन्य विकासका काम पनि पुलकै अभावमा रोकिएका छन् । 
शिखर नगरपालिका–११, तल्लीसातका लाल जोराले पुल अभावमा सडक विस्तार गर्न नसकिएको बताए । खानेपानी, भवन, घरजस्ता भौतिक पूर्वाधार निर्माण गर्न कठिन भएको उनको धारणा छ । 

निर्माण कम्पनीले पुल निर्माण क्षेत्रमा क्रसरसमेत सञ्चालन गरेको थियो । पुलको काम हुँदै छ भनेर स्थानीय ढुक्क थिए। तर, निर्माण कम्पनीले तीन÷चार वर्षसम्म नजिकैको नदी उत्खनन गर्दै बालुवा, ढुङ्गा र गिट्टी मात्रै अन्यत्र ओसारेको स्थानीयको आरोप छ । स्थानीय भीम पार्कीले भने,‘सुरुवात निकै छिटोछिटो काम गरेजस्तो ग¥यो । बालुवा, ढुङ्गा र गिट्टी चोर्न पो रहेछ। बालुवा, ढुङ्गा र गिट्टी अन्यत्र लग्न थालेपछि गाउँलेले विरोध गरेर बाटो थुन्यौँ अनि मात्रै रोकियो ।’ विभागले समयमै काम सम्पन्न नगर्ने निर्माण कम्पनीको पटक–पटक म्याद थप्दा यस्ता योजना अलपत्र पर्ने गरेका छन् । कम्पनी सञ्चालकले पावर र सेटिङका आधारमा योजनाको म्याद थप्ने र भुक्तानी लिने गरेका कारण पुलको काम अलपत्र परेको स्थानीयको गुनासो छ । 

वि।सं। २०७४ असार २९ गते काम सम्पन्न गर्ने गरी वि।सं। २०७१ मा ठेक्का सम्झौता भएको सो पुल निर्माणका लागि हालसम्म चार पटक म्याद थप भएको छ । सडक विभागले १२औँ पटक संसोधन गरेको सार्वजनिक खरिद नियमावलीअनुरूप चौथो पटक म्याद थप भएको सडक डिभिजन कार्यालय डोटीका सूचना अधिकारी इन्जिनियर रामचन्द्र जैसीले जानकारी दिए । उनका अनुसार पछिल्लो समय २०७८ चैत ३० गते २०८० असार मसान्तसम्म काम सम्पन्न गर्ने गरेर म्याद थप गरिएको हो । यसअघि २०७५ पुस ५ गते पहिलो पटक म्याद थप गरिएको थियो । २०७७ चैत ५ गते दोस्रो पटक र २०७८ भदौ ४ गते तेस्रो पटक म्याद थप गरिएको पाइन्छ ।