छाडा चौपायाले तराईका किसान समस्यामा
2023/02/01, 4:50
 
ss

छाडा चौपायाका कारण कैलाली, कञ्चनपुरका किसान समस्यामा परेका छन् । छाडा गाईगोरुले खेतीपातीमा नोक्सान गर्न थालेपछि उनीहरु समस्यामा परेका हुन । चौपायाले गर्दा हैरान भएको किसानले बताएका छन् । छाडा गाईगोरुले बाली सखाप पार्न थालेको उनीहरुको भनाइ छ ।  ‘छाडा चौपायाबाट खेतीपाती जोगाउनै मुस्किल भएको छ’, कैलारी गाउँपालिका–७ का किसान खेमराज चौधरीले भने,‘राति आएर बाली खाइ दिइरहेका छन् ।’ उहाँका अनुसार दिनभरी बसन्ता जङ्गलमा बस्ने छाडा चौपाया राति खेतमा गएर गहुँ, मसुरोमा नोक्सान गरिरहेका छन् । कतिपय ठाउँका किसान त छाडा चौपाया धपाउनकै लागि खेतमा रातभरी जाग्राम बस्ने गरेका जनाइएको छ ।

जङ्गली जनावरबाट कृषिबालीमा नोक्सानी व्यहोर्दै आएका आफूहरु पछिल्लो समय छाडा चौपायाबाट हैरान भएको कृषक चौधरीको भनाइ छ । ‘जङ्गली हात्तीको समस्या त छदैं थियो, अहिले छाडा चौपाया समस्या पनि थपियो’, उनले भने,‘हामी किसानलाई बाली जोगाउनै मुस्किल भएको छ ।’   छाडा चौपाया सर्वसाधारणबाटै उत्पन्न समस्या हो । कैलाली, कञ्चनपुरको सबै स्थानीय तहमा अहिले यो समस्याले विकराल रुप लिइरहेको छ । स्थानीय तहले छाडा चौपायाको नाममा करोडौं खर्च गरिसकेपनि समस्या समाधान हुनुका सट्टा झन बल्झिदैं गएको छ । छाडा चौपायाको सङ्ख्या झन बढ्दै गएको छ । दिनभरी जङ्गल र बजार क्षेत्रमा घुम्ने छाडा गाईगोरु राति किसानको खेतमा पुगेर तरकारी र विभिन्न बाली सखाप पार्ने गरेका किसानको भनाइ छ । जङ्गली जनावर र छाडा चौपायाले बाली सखाप पार्न थालेपछि के खाने भनेर उनीहरु चिन्तित भएका छन् । जङ्गली जनावर र छाडा गाईगोरुले खेतीपातीमा नोक्सान गर्दै आएकाले वर्षभरी खान नपुग्ने गरेको कञ्चनपुरको पुनर्वास नगरपालिका–११ की बसन्ती सार्कीले बताइन । छाडा चौपायाका कारण किनेर खानु पर्ने बाध्यता रहेको उनकोे भनाइ छ ।

‘तारबार गर्दा पनि समस्या समाधान हुन सकेको छैन’, उनले भनिन्,‘जङ्गलबाट छाडा चौपाया आएर बाली खाई दिइरहेका छन् । हामीलाई खान पुग्दैन, किनेर खानुपर्छ ।’ छाडा चौपायाले हिउँदे बाली सखाप पार्न थालेपछि किसानहरु खेतमै जाग्राम बस्नु पर्ने बाध्यता सृजना भएको विकको भनाइ छ । किसान राति खेतमै बस्ने र चौपाया आएमा धपाउने गरेका उनी बताउँछिन् । धेरैजसो छाडा चौपाया भारततिरबाट पनि खेतमा आउने गरेको किसानको भनाइ छ । 

दूध दिन छाडेका गाई र हलो जोत्न नसक्ने गोरु जथाभावी छोड्नाले छाडा चौपायाको समस्या बढेको बताइन्छ । झुन्डमा परिणत भएका छाडा चौपायाका बाच्छाबाच्छी जन्मिदैं गएकाले सङ्ख्या बढ्दै गएको छ । दुवै जिल्लामा अहिले अनगिन्ती छाडा चौपाया छन् । छाडा गाईगोरुको यकिन तथ्याङ्क कुनै पालिकासंग छैन । केही स्थानीय तहले दुई÷चार सय छाडा चौपाया गौशालामा व्यवस्थापन गरे पनि अत्यधिक चौपाया अझै बाहिरै छन् । जङ्गल सडक, यत्रतत्र ति चौपाया देखिन्छन् । धेरैजसो छाडा चौपाया राजमार्ग क्षेत्रमै बस्ने गरेकाले तिनका कारण दुर्घटना पनि हुने गरेको छ ।

पुनर्वास नगरपालिकाका प्रमुख तोयाप्रसाद शर्माले आफ्नो पालिकामा छाडा चौपाया व्यवस्थापनको प्रयास भइरहेको बताउँछन् । ‘हामीले कान्जी हाउस निर्माणका लागि वडालाई जिम्मा दिएका छौं’, उनले भने,‘जङ्गली जनावर र छाडा चौपायाको समस्या रहेकाले पीडित किसानलाई राहत दिनका लागि माथिल्लो निकायमा पहलसमेत गरिरहेका छौं ।’  छाडा चौपाया व्यवस्थापनका लागि दुवै जिल्लाका स्थानीय सरकारले करोडौं रुपैयाँ बजेट खर्च गरिसकेका छन् । तर, समस्या समाधान हुनु त परै जाओस झन बल्झिदैं गएको छ । छाडा चौपायाको  संख्या पनि बढ्दै गएको छ ।  विगत साढे पाँच वर्ष यता भीमदत्त, बेदकोट, शुक्लाफाँटा र कृष्णपुर लगायतका नगरपालिकाले पशु व्यवस्थापनमा करोडौ रकम खर्च गरिसकेका छन् ।कञ्चनपुरमा सामुदायिक चौपाया व्यवस्थापन जिम्मेवारी पालिकाका उपाध्यक्ष/उपप्रमुखलाई दिइएको छ । बेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहराले छाडा पशु चौपाया व्यवस्थापनका लागि वडा स्तरमै काञ्जीहाउस बनाउन लागिएको बताए ।

‘नगरपालिका छेउमै राखेर केही महिनायता छाडापशु अस्थायी रुपमा व्यवस्थापन गरिरहेका छौँ’, उनले भने,‘दोस्रो कार्यकालका लागि हामी आइसकेपछि मात्रै छाडापशु व्यवस्थापनमा रु साढे ५ लाख जति खर्च भइसकेको छ ।’ उनले दशमध्ये आठ वडामा काञ्जीहाउस बनिरहेको बताए । ‘काञ्जीहाउस लगायतका व्यवस्थापनमा रु २८/३० लाख जति खर्च हुने अनुमान छ’, उनले भने,‘छाडा पशु व्यवस्थानमा पशुपालक किसानहरु पनि सहयोगी हुनु आवश्यक छ ।’ बितेका साढे पाँच वर्ष यता बेदकोट नगरपालिकाको छाडा पशु चौपाया व्यवस्थापनमा रु १ करोड भन्दा बढी खर्च भइसकेको नगरपालिकाले जनाएको छ ।

भीमदत्त नगरपालिकामा अघिल्लो कार्यकालमा चौपाया व्यवस्थापनका लागि आवश्यक कानुनका साथै भौतिक संरचना समेत निर्माण गरिएको थियो । चौपाया व्यवस्थापनकै क्रममा भीमदत्त नगरपालिकाले छाडा पशुमा ट्याग लगाउने कार्य गरेको थियो । हालसम्म भीमदत्तले रु ९१ लाख भन्दा बढी रकम खर्च गरिसकेको छ ।  त्यसैगरी यहाँको शुक्लाफाँटा नगरपालिकाले यहाँको वडा नं. ९ सिर्सैयाको बिन्द्रावन सामुदायिक वन परिसरमा छाडा पशु चौपाया व्यवस्थान गरिरहेको छ । त्यसको जिम्मेवारी नगरपालिकाबाट वडाअध्यक्ष रमेश ऐरले लिनुभएको छ । वडाध्यक्ष ऐरले हाल बिन्द्रावन सामुदायिक छाडा पशु व्यवस्थापन केन्द्रमा साढे तीन सय पशु रहेको बताए ।

‘यहाँ ल्याएर व्यवस्थापन गरेपछि शुक्लाफाँटामा हुदै गएको छ’, ऐरले भने,‘गौ सेवक, आहारा लगायतको व्यवस्थापनमा चालु आवमा रु ४० लाख दिएको छ ।’ उनले विगत वर्ष यता वार्षिक रु ४० लाख नगरपालिकाले पशु व्यवस्थापनमा खर्च गरिरहेको जानकारी दिए ।